तिहार शुभारम्भ



काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सोमवारदेखि शुरू भएको छ । चान्द्रमासअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म ५ दिन तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ ।

 

यसैले यी ५ दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ । कात्तिक २० गते मङ्गलवार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूत मानिन्छ ।

 

कात्तिक २१ गते बुधवार कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । लक्ष्मीपूजाको दिन बिहान गाईपूजा पनि गर्ने गरिन्छ ।

 

कात्तिक २२ गते बिहीवार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । कात्तिक २३ गते शुक्रवार भाइटीका छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवम् बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्