खेलमा झेल : संस्थापनविरुद्ध खेल संघमा विद्रोह



काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले वित्तीय निर्देशक निरञ्जन शाहमाथि भ्रष्टाचार गरेको आरोपलाई स्वीकार गरेर निलम्बन गरिसकेको छ। पछिल्ला हरेक कार्यसमिति बैठक एन्फा अध्यक्ष कर्मा छिरिङका लागि फलामको चिउरा साबित भएका छन् ।

यसैको उदाहरण यो निर्णय पनि हो । पूर्वप्रवक्ता किरण राई देखि उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य निरोज खड्गी र दिनेश व्यञ्जनकारसहित एउटा समूहले एन्फा नेतृत्वले गलत गरेको भन्दै अध्यक्ष शेर्पाका हरेक निर्णयको प्रतिकार गर्ने गरेको छ । शाहमाथिको निलम्बनको निर्णय अध्यक्ष शेर्पाले नचाहेर नै भएको हो । छानबिन कमिटीले भ्रष्टाचार भएको ठहर गरेपछि शाह केन्द्रीय कार्यसमितिबाट निलम्बनमा परेका हुन् । शाहलाई छानबिन कमिटी गठन हुनेबित्तिकै निलम्बन गर्ने निर्णय केन्द्रीय कार्यसमितिबाट भए पनि अध्यक्ष शेर्पाले फेरि काममा बोलाएका थिए ।

छानबिन कमिटीले प्रतिवेदन बुझाएपछि केन्द्रीय कार्यसमिति लगातार दोस्रो पटक शाहलाई निलम्बन गर्ने निर्णयमा पुगेको थियो । धेरै राष्ट्रिय संघका पदाधिकारी र सदस्यहरूको पदावधि २०७६ चैत या २०७७ वैशाखमा सकिए पनि कोभिड– १९ महामारीका कारण अहिलेसम्म भएको छैन । केही संघको पदावधि धमाधम सकिँदै छ । यसरी पदावधि सकिएका धेरै संघमा वर्तमान नेतृत्व सफल हुने सम्भावना कम देखिएपछि अधिवेशन सार्ने योजनामा छन् । ती संघमा आक्रोश र विद्रोह बढ्दै गएपछि संस्थापन पक्ष अधिवेशन सार्ने योजनामा छ भने विपक्षी समूह जति सक्दो चाँडो अधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न चाहन्छ । यो फुटबल र बुद्धिचालको हकमा धेरै लागू हुन्छ। सबैभन्दा पेचिलो निर्वाचन भने अखिल नेपाल फुटबल संघको हुने देखिएको छ। अधिवेशनमा वर्तमान अध्यक्षका विरुद्ध वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ उम्मेदवार हुने लगभग निश्चित भइसकेको छ।

कुनै समय ‘चेन्ज एन्फा’को नाममा गणेश थापा नेतृत्वको विरुद्धमा मोर्चाबन्दी गरेको शेर्पा र नेम्बाङ अहिले छुट्टिएका छन्। नेम्बाङको आरोप शेर्पाको कार्यकालमा सुधार हुनुको साटो फुटबलको अवस्था झनै बिग्रिएको भन्ने छ । फुटबल संघमा चुनावी सरगर्मी यसरी बढेको छ कि प्रतिनिधि चयनमा दुवै पक्ष उत्तिकै सक्रियतापूर्वक लागिपरेका छन् । सी डिभिजन र बी डिभिजन क्लबमा वरिष्ठ उपाध्यक्ष नेम्बाङ पक्षधरको पकड देखिएपछि अध्यक्ष शेर्पा पक्षधर निर्वाचनलाई पर धकेल्ने दाउमा रहेका धेरैको मत छ। पछिल्लो समय फुटबलकर्मीका सामाजिक सञ्जालसमेत यस्तै बहसले भरिने गरेका छन् । २२ वैशाखमा एन्फाको वर्तमान कार्यसमितिको पदावधि सकिँदै छ।

१५ जेठमा घोषित साधारणसभालाई पछि सार्न नेतृत्वको प्रयासका बारे महासचिव इन्द्रमान तुलाधर ‘अफवाह’को संज्ञा दिन्छन् । भन्छन्, ‘१५ जेठमा घोषणा गरेकै छ । सार्न खोजिएको हाम्रो जानकारीमा छैन ।’ तुलाधरको यो दाबीका बाबजुद जिल्ला अधिवेशन तोकिएका जिल्लाहरूको अधिवेशन पनि स्थगित गरिएको छ। काठमाडौं जिल्ला फुटबल संघको अधिवेशन १५ फागुनका लागि तय भए पनि एन्फाका कारण रोकिएको अध्यक्ष विराटजंग शाही बताउँछन् । मिति घोषणा भएको नेपाल बुद्धिचाल संघको अधिवेशन पनि २ पटक स्थगित भएको छ। आमबुद्धिचालकर्मीमा पनि साधारणसभामा गरिएको ढिलाइमा आक्रोश देखिएको छ। संघ पदाधीकारीहरूले सामाजिक सञ्जालमा नै सबैको आग्रह र अनुरोधका बाबजुद केन्द्रीय कार्यसमिति बैठकसमेत नबोलाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

संघका महासचिव हेराकाजी महर्जन सामाजिक सञ्जालमा उठेका धारणालाई व्यक्तिगत भन्दै लेखापरीक्षण सकेर कार्यसमितिको बैठक बस्ने र अधिवेशनको मिति घोषणा गर्ने बताउँछन् । नेतृत्वविरुद्धको आक्रोश ब्याडमिन्टन संघमा पनि त्यतिकै छ । पूर्व राष्ट्रिय च्याम्पियन नरेशबहादुर सिंहले आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि उम्मेदवारी घोषणासँगै सामाजिक सञ्जालमै हेर्नलायक जुहारी चलेको छ । जय ब्याडमिन्टन आइडीबाट विगत केही वर्षदेखि संघ अध्यक्ष रामजीबहादुर श्रेष्ठका विरुद्ध आक्रामक अभिव्यक्ति देखिएको छ । यसैगरी हाम्रो ब्याडमिन्टन आइडीबाट संघ नेतृत्वको बचाउ गर्ने गरिएको छ। नरेशको उम्मेदवारी घोषणासँगै प्रताप अधिकारीलगायत पूर्व राष्ट्रिय च्याम्पियनको एउटा समूह उनलाई सहयोग गर्ने अभियानमा लागी परेका छन् । सिंहको पक्षमा अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल तथा श्रेष्ठको पक्षमा अर्का अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाको भूमिका रहने जनाइएको छ । यस्तै अवस्था नेपाल भलिबल संघको पनि छ । भलिबल संघमा वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माको विकल्पका रूपमा दानबहादुर तामाङ, निरोज मास्के र जितेन्द्र चन्दको चर्चा छ ।

संघको संस्थापन पक्षको नेतृत्व हालका महासचिव चन्दले गर्नेछन् भने विद्रोही समूहको तर्फबाट तामाङ र मास्केमध्ये एक उम्मेदवार हुने चर्चा चलेको छ।तामाङ उम्मेदवार नहुने सोचमा केही समय अगाडिसम्म रहे पनि पछिल्लो समय उनका निकट केही व्यक्तिले उम्मेदवारीका लागि दबाब दिइसकेका छन् । मास्केले त एक वर्ष अगाडि नै उम्मेदवारी घोषणा गरेकी थिइन्। व्यावसायिक क्षेत्रमा सक्रिय तामाङ अध्यक्षको उम्मेदवार हुनका लागि संस्थापन पक्षका विरुद्धमा रहेका धेरैले जोड गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसल्लाहकार शालिकराम खड्कासहितको समूह तामाङ उम्मेदवार हुनुपर्नेमा छ । संयोग नै मान्नुपर्छ कि धेरै खेलमा संस्थापन पक्षका विरुद्धमा रहँदै सुधारको आवाज उठाउने पक्षले प्रदेश १ बाट बलियो साथ पाएको छ ।

एन्फा र बुद्धिचाल संघमा त्यसै प्रदेशबाट अध्यक्षको उम्मेदवार हुने लगभग निश्चित नै भइसकेको छ । भलिबल संघमा पनि प्रदेश १ को आवाज संस्थापन पक्षको विरुद्धमा रहने आँकलन छ । ब्याडमिन्टनमा पनि प्रदेश १ श्रेष्ठको विरुद्धमा रहने प्रबल सम्भावना छ । त्यसो त नेपाल तेक्वान्दो संघले केही महिना अगाडि राष्ट्रिय खेलकुद परिषद्को सर्कुलरलाई बेवास्ता गर्दै असोज महिनामा गरेको साधारणसभा पनि त्यतिकै विवादित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्