एमसीसीमा अब थप राजनीति नहोस् : विवेकशील साझा



काठमाडौं । विवेकशील शाझाले अब एमसीसीको विषयमा थप राजनीतिक गर्न नहुनेमा जोड दिएको छ । साझाका प्रवक्ता सरदराज पाठकले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्नु नेपालजस्तो मुलुकका लागि शुभ सङ्केत नभएको बताएका छन् ।

तर अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु भएको भन्दै त्यस्तो काम अब कसैबाट पनि हुनु नहुनेमा जोड दिएका छन् ।

एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण अनुदान लिनु र सन्धि सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुने पनि उनको भनाई छ।

विज्ञप्तिमा भनिएको छ  ‘आधा भरिएका नैतिकताहीन ढ्वाङहरूको स्वार्थ केन्द्रित नेतृत्व कायम रहेसम्म हामी एकपछि अर्को विभिन्न किसिमका काण्डमा फसिनै रहने छौँ । अतः आगामी निर्वाचनले त्यस्तो नेतृत्वलाई फाल्न दिने मौकाको भरपुर सदुपयोग गर्न विवेकशील साझा पार्टी देशभक्त आम नेपाली नागरिकलाई हार्दिक अपिल गर्दछ’ ।

विज्ञप्ति माफर्त विवेकशील साझा पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधनबिना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता विगतमा पटक-पटक स्पष्ट रूपमा राख्दै आएको पनि स्मरण गराइएको छ ।

एमसीसी कम्प्याक्ट सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै अन्ततः कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ विज्ञप्तिमा उल्लेख छ । संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको साझाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्