नक्कली नागरिकता दिलाउने जेल चलान, सिफारिस दिने वडा अध्यक्ष अझै फरार



मोरङ : जिल्ला अदालत मोरङले सात भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका सत्यनारायण पोद्दारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले पोद्दारले झुठा विवरण पेस गरी नागरिकता बनाएको देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले मुलुकी ऐन फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ बमोजिम तत्काललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश भएको जानकारी दिए ।

२०७१ साल पुस यता पोद्दारले सात जना भारतीय नागरिकलाई आफ्नो छोरा भएको भन्दै झूठो विवरण पेस गरी नागरिकता बनादिएका थिए । अदालतमा बयानका क्रममा नागरिकता बनाइदिएका सातै जना आफ्नो छोरा भएको बयान दिएका पोद्दारले श्रीमतीको नाम भने गल्ती भएको स्वीकार गरेका थिए ।

आइतबार झुठा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दा दायर गरिएको थियो ।

सो मुद्दामा विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित १५ जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्