महिला टी–२० विश्वकप : नेपालले आज कुवेतको सामना गर्दै



काठमाडौँ : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज कुवेतको सामना गर्दैछ । पहिलो खेलमा हार र दास्रोमा जित निकालेको नेपाली टोली आज आफ्नो तेस्रो खेलमा कुवेतसँग भिड्न लागेको हो । नेपाल र कुवेत बीचको खेल नेपाली समय अनुसार बिहान सँवा ११ बजेबाट सुरु हुनेछ ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा उत्रदा नेपाल लगातार दोस्रो जितको खोजिमा हुने छ । कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेतले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भोगेको थियो । सन् २०१९ मा भएको एक भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो । नेपाल त्यस जितलाई कायम राख्न चाहन्छ । छनोट अन्तर्गत युएई लगातार दुई खेल जित्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता एक–एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानले समान दुई–दुई अंक जोडेपनि नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौ स्थानमा रहेका छन् । प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्