सीपीएलमा अनुबन्धित भएका सोमपालले भने,‘आईपीएल खेल्दै बुवाको इच्छा पूरा गर्नेछु’



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा अनुबन्ध भएका छन्। बिहीबार राती सम्पन्न ड्राफ्टमा सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ।

सोमपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट लिग खेल्न लागेका हुन्। सोमपाल विदेशी लिग खेल्ने दोस्रो नेपाली खेलाडी समेत हुन्। दुई वर्ष अघिदेखि नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका छन्।

ग्लोबल टी–२० क्रिकेट खेल्ने भएसँगै सोमपाल अहिले चर्चामा छन्। ड्राफ्टमा उनको नाम परेसँगै उनलाई बधाईं दिनेको ओइरो लागेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सोमपालले क्यानडा प्रिमियर लिगमा अनुबन्धित भएकोमा आफू निकै उत्साहित रहेको बताएका छन्। 

उनले भने, ‘खुसी लागि रहेको छ। पहिलेदेखि लाग्थ्यो हामी पनि सक्षम छौं। अब केही गरेर देखाउने छु।’ सोमपाललाई विनिपिग हक्सले आफ्नो क्लबमा अनुबन्धित गरेको हो। सोमपालले विश्व चर्चित खेलाडी ड्यारेन ब्राभो, जेपी डुमिनी, साइमन अनवरसँगै एउटै टिमबाट खेल्ने छन्।

प्लेइङ इलाभेनमा पर्दै आफू खेल्न पाउनेमा सोमपाल विश्वस्त छन्। तर, सुरुवाती खेलमा भने टिममा आफू नपर्न सक्ने सम्भावनालाई उनले बुझेका छन्। उनी भन्छन्, ‘पहिलो तीन खेल गुमाउछु होला। त्यहाँ कप्तान र प्रशिक्षकको रणनीतिमा भर पर्छ।’ पत्रकार सम्मेलनमा सोमपालले भने म अन्तर्राष्ट्रिय लिग खेल्ने हुँदा सबै खुसी छन्।

सबैलाई ठूलो उपलब्धी लागिरहेको छ। तर, मेरो बुबालाई भने भारतीय टिम र आईपीएल क्रिकेट नै सबैभन्दा ठूलो लाग्छ। आशा छ एकदिन आईपीएल पनि खेल्नेछु। हिजो ८० प्रतिशत आत्मविश्वास थियो भने अहिले सय प्रतिशत पुगेको छ।’ सन्दीपले गतवर्षदेखि खेल्न थालेको ग्लोबल टी–२० क्यानडा लिगमा यो पटक पनि उनी खेल्ने भएका छन्। सन्दीपले टोरोन्टो नेशनल्सबाट खेल्दै छन्।

संयुक्तरुपमा पत्रकारकासँग कुरा गर्दै सन्दीपले पनि सोमपाल थपिएपछि आफ्नो इच्छा पूरा भएको बताएका छन्। उनले भने ‘एउटा खेलाडीले मात्र खेलिरहेको थियो। अब दुई जना भएका छौं। आशा छ भविष्यमा अझ धेरै खेलाडीले अन्तर्राष्ट्रिय स्तरका ठूला लिगहरू खेल्नेछन्।’

ग्लोबल टी–२० क्यानडा प्रतियोगिता आगामी जुलाई २५ तारिखदेखि सुरु हुँदैछ। तर, सन्दीप र सोमपाल भने केही ढिलो गरी मात्रै क्यानाडा पुग्ने छन्। आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनल राउण्ड जुलाई २८ तारिखमा मात्रै सकिनेछ। नेपाली क्रिकेट टिमका भरपर्दा यी दुई खेलाडी सिंगापुरबाट उतै क्यानडा जाने छन्।

प्रतिक्रिया दिनुहोस्