एमसीसीको व्याख्यात्मक टिप्पणी ‘न्यानो थाङ्नो’ हो : झलनाथ



विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोगको परियोजना (एमसीसी)को व्याख्यात्मक टिप्पणी भनेको ‘न्यानो थाङ्नो’ मात्रै भएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँगको कुराकानीमा उनले व्याख्यात्मक टिप्पणी नेपालका नेताहरुलाई आनन्दपूर्वक सुतुन भनेर बनाइएको ‘न्यानो थाङ्नो’ मात्रै भएको उल्लेख गरेका हुन् ।

उनले २ सय ७५ जना सांसदलाई हेरेको हेरै पारेर जबरजस्ती एमसीसी पास गरेको आरोप समेत लगाएका छन् । ‘यो नेपालको इतिहासमा दु:खद र लज्जाजनक कुरा हो’ उनले भने,‘ न छलफल गर्ने वातावरण बन्यो, सांसदहरुलाई हेरेको हेरै पारेर जवरजस्ती माथिबाट पेलेर एमसीसी पास गरियो ।’

‘सदनमा प्रस्तुत भएको प्रस्ताव सदन भरीनै छलफल गर्नु पर्ने हुन्छ’ नेता खनालले भने,‘छलफल भएन भने अर्को सदनमा फेरी पेश गर्नु पर्ने हुन्छ।’ संसद्का विधान मिचेर एमसीसी पास भएको भन्दै उनले व्याख्यात्मक टिप्पणीलाई कथितको संज्ञा दिएका छन् ।

एमसीसीले ल्याउने परिणाम अब जन्मिदैँ जाने भन्दै उनले कार्यान्वयनमा ठूलो चुनौती रहेको तर्क गरेका छन् । गठबन्धन एमसीसीका कारण नबनेको र एमसीसीकै कारण नटुट्ने समेत उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्