निर्वाचन काठमाडौं महानगरको ‘फाइनल परीक्षा’ हो : प्रकाशमान



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको निर्वाचन ‘फाइनल परीक्षा’ भएको बताएका छन् ।

६ महानगरपालिकामध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरपालिकामा रहेका बेला नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’

गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पार्किङको समस्या समाधान हुन नसकेको भन्दै आलोचना गरे। अब पाँच वर्षको मूल्यांकन गरेर कांग्रेसले जित हासिल गर्नेगरी मतदातासामु जानुपर्ने उनको भनाइ छ । ‘मुद्दा पहिचान गरेर मतदातासामु जानुपर्छ, त्यसपछि मात्र मतदाताले मत दिन्छन्,’ उनले भने ।

कांग्रेस काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ३२ वटै वडामा वडा समिति र टोल समितिलाई क्रियाशील बनाउन निर्देशन दिएका छन् । आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्