एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपासहित ६ दल आन्दोलनमा



काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज (शुक्रबार) राजधानीकाे खुलामञ्चमा जनसभा गर्दैछन् । गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका वाम पार्टीहरूले आज माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्‍याली निकालेर खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन् ।

बिहान ११ बजे र्‍याली सुरु हुने  र १२ बजे सभा हुने जनाइएको छ । नेकपा, (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन् । याे मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तरक्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ ।

२६ फागुनमा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने २८ फागुनमा युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्