भगवतीको लगातार जित, बाँसबारी र टुसालको बराबरी



काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार ब्वाइज युनियनलाई २-१ गोल अन्तरले हराएर श्री भगवतीले दोस्रो जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा ब्वाइजका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा अमित लामाले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए ।

पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको थियो । जितसँगै श्री भगवतीले २ खेलमा ६ अंक जोडेको छ । ब्वाइजले २ खेलमा ३ अंक जोडेको छ। लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन्

यसैबीच लिग अन्तर्गत आज भएको दोस्रो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । सातदोबाटोस्थित एन्फा कप्लेक्समा निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यो बराबरीसँगै दुवै टोलीको २ खेलबाट समान १ अंक भएको छ । बाँसबारी पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३-१ ले पराजित हुँदा टुसालले चर्च ब्वाइजसँगको खेल ५-२ ले गुमाएको थियो ।

लिगअन्तर्गत शनिबार नै भएको दोस्रो खेलमा श्री भगवती क्लबले ब्वाइज युनियनमाथि २-१ को रोमाञ्चक जित हात पारेको थियो । १४ टोली सहभागी लिगका शीर्ष दुई टोली ए डिभिजनमा बढुवा हुँदा पुछरका दुई टोली सी डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्