इक्वालिटी कप : मोरङ र झापाको विजयी सुरुवात



विराटनगर । विराटनगरमा जारी प्रथम इक्वालिटी कप लिग महिला क्रिकेटमा मोरङ र झापा जिल्लाले विजयी सुरुवात गरेका छन् । नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा मोरङले सप्तरी र झापाले सुनसरीलाई पराजित गरेका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा मोरङले सप्तरीलाई १ सय ५१ रनको विशाल स्कोरमा पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको मोरङले २० ओभरमा १ विकेट गुमाउँदै १ सय ९४ रनको विशाल स्कोर बनायो । मोरङकी वुमने अफ द म्याच सिर्जना राजवंशीले ६२, सानु राजवंशीले ४५ र टीका साहले ४३ रन बनाए । सप्तरीकी सिर्जना चौधरीले १ विकेट लिएकी थिइन् ।
सप्तरीले पाएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा १४ ओभर १ बल खेल्दै ४३ रनमै समेटियो । कसैले पनि दोहोरो अंक बटुल्न सकेनन् । मोरङकी अंशु जैसवालले ५ विकेट लिइन् ।
दोस्रो खेलमा नेपालको राष्ट्रिय टोलीकी कप्तानसहित अन्य खेलाडी सम्मेलित झापाले सुनसरीलाई ९१ रनको फराकिलो स्कोरमा पराजित गरे । टस जितेर पहिलो ब्याटिङ थालेको झापाले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ४० रनको स्कोर बनायो। झापाकी काजोल श्रेष्ठले ३५ र लक्किता राजवंशीले ११ रन बनाए । सुनसरीकी नुमा लिम्बूले २ विकेट लिइन्।
१ सय ४१ रनको लक्ष्य पछ्याएको सुनसरीले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै ४९ रनमै समेटियो । सुनसरीकी एन्जल दोर्जे र सपना साहले समान ११–११ रन बनाए । वुमेन अफ द म्याच झापाकी अफसरी बेगमले ३ विकेट लिइन् ।
प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल सप्तरी र सुनसरी तथा दोस्रो खेल झापा र मोरङबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्