सुन आयातमा राष्ट्र बैंकको अङ्कुश



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको आयातमा अङ्कुश लगाएको छ। राष्ट्र बैंकले आइतबार सुनको कोटा घटाएर आयातमा अङ्कुश लगाएको हो । व्यवसायीहरूले बजारको मागभन्दा आधा मात्र सुन आपूर्ति भएको भन्दै कोटा बढाउन माग गरिरहेका बेला राष्ट्र बैंकले भने हाल दिँदै आएको कोटामा उल्टै आधा घटाएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई परिपत्र जारी गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गर्दै दैनिक १० किलोमा झारेको छ। यसअघि दैनिक २० किलो सुन आयात गर्ने कोटा थियो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा विलासिता वस्तुको आयातमा कडाइ गर्ने सङ्केत राष्ट्र बैंकको थियो । सुनलगायत वस्तुको आयात बढ्दै गएका कारण देशको ढुकुटीमा वैदेशिक मुद्राको सञ्चितिमाथि दबाब परेको छ। विप्रेषण घट्ने तर सुनलगायतको आयात बढ्दा वैदेशिक मुद्राको सञ्चिति घटेर अहिले सञ्चित वैदेशिक मुद्राले देशको कुल आयात जम्मा साढे ६ महिनालाई मात्र धान्ने अवस्था छ। विदेशी मुद्र्राको सञ्चितिमा दबाब भएपछि केन्द्रीय बैंकले वस्तु आयातमा कडाइ गर्दै आएको छ।

यसअघि गाडीको आयातमा ५० प्र्रतिशत मार्जिनको व्यवस्था गरेको थियो। रुस–युक्रेन युद्धका कारण डलर, सुन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएको छ भने नेपालमा वैदेशिक मुद्राको आम्दानी घट्दै जाँदा बेमौसममा पनि सुनको माग बढ्दै गएकाले केन्द्रीय बैंकले नियन्त्रणको उपाय अवलम्बन गरेको सरोकारवालाहरूको भनाइ छ । विवाहको समय नहुँदा पनि सुनको मागमा कमी नहुनुमा व्यवसायी तथा सर्वसाधारणले सुन सञ्चित गरेर राखेको अनुमान छ । अनौपचारिक तथ्याङ्कअनुसार अहिले नेपाली बजारमा करिब ३०० किलो सुन मौज्दात छ र आन्तरिक बजारको मागलाई धान्न पुराना गरगहनासमेतले पुग्ने अनुमान गरिएको छ । केन्द्रीय बैंकले सुन आयातमा कडाइ गर्नुअघि नै बैकहरूले आफ्नो डलर सञ्चितिमा दबाब परेपछि सुन आयात गर्न कम चासो देखाएका थिए । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार ६४३ किलो सुन आयात गर्न २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ रकम विदेशिएको छ ।

यसैबीच बहुमूल्य पत्थर उत्खननका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । देशभित्रका खानीको उत्खनन गर्दै बहुमूल्य रत्न आभूषणको प्रशोधन गरी निकासी बढाउन सरकार प्रतिबद्ध रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले बताए । नेपाल रत्न तथा आभूषण संघको १७औँ साधारणसभालाई सम्बोधन गर्दैै सचिव पोख्रेलले अन्तर मन्त्रालय तथा निकायबीच समन्वयको अभावका कारण रत्न तथा आभूषण क्षेत्रलाई सरकारले पर्याप्त सम्बोधन र सहजीकरण गर्न नसकेको स्वीकार गर्दै जन्मदेखि मृत्यु संस्कारसम्म सुन–चाँदीका गरगहना चाहिने समाजका लागि यस क्षेत्रको महत्व विशिष्ट रहेका बताए । कार्यक्रममा संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सुन–चाँदीका गरगहनाको बजार वार्षिक १० प्रतिशत हाराहारीमा बढिरहे पनि सुन आयात र वितरणमा कोटा घटाइएकाले व्यवसायमा समस्या रहेको बताइन् ।

सरकारले पर्याप्त मात्रामा सुन–चाँदी उपलब्ध गराए आफूहरूले गरगहना निकासी गरेर व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ । चाँदी आयातमा सत प्रतिशत नगद मार्जिन राख्नुपर्नेलगायतका व्यवस्था अव्यावहारिक भएको उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायीको आवश्यकता र बजारको मागअनुसार सुनको कोटा निर्धारण गर्दै नीति नियम व्यवसायीमैत्री हुनुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईले देशको आर्थिक विकासमा रत्न तथा आभूषण क्षेत्रको सकारात्मक योगदान रहने भएकाले सरकारले नीतिगत सहयोग गर्नुपर्ने तथा निकासीका लागि सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्