पदाधिकारी छान्न प्रचण्ड अक्षम !



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्न सकेनन्। पदाधिकारी चयन गर्न नसकेपछि स्थानीय तह निर्वाचनसम्म पार्टीको पदाधिकारीमा उनी एक्लै हुने भएका छन्। महासचिवका दाबेदार नेताहरूबीच सहमति जुट्ने सङ्केत नपाएका कारण पदाधिकारी चयन प्रक्रियालाई उनले स्थानीय निर्वाचनपछि धकेलिदिएका हुन् ।

बैठकमा पदाधिकारी चयनको एजेण्डामाथि सोमबार केही छिन छलफल भएको थियो तर चयन हुन सकेन । महासचिवको दाबेदारमध्येका एक नेता वर्षमान पुनले पदाधिकारी चयन बैठकबाट नगरिनुलाई ‘समय अभाव’ भएको बताएका छन् । पर्याप्त समय लिएर मात्र छलफल गरी पदाधिकारी टुंग्याइने उनले बताए । ‘मूख्य कुराचाहिँ जिम्मेवारीको कुरा हो । कार्यक्रमको कुरा हो’, नेता पुनले भने, ‘पदाधिकारी विधानअनुसार चयन गर्दा राम्रो हुन्थ्यो तर हामीसँग समयको अभाव रह्यो र हामी समय लिएर छलफल गरेर चयन गर्छौं ।’ महासचिवमा पुनसँगै जनार्दन शर्मा, पम्फा भुसाल र देवप्रसाद गुरुङको दाबेदारी रहँदै आएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराको पनि चर्चा छ तर बलिया दाबेदारका रूपमा पुन र शर्मालाई हेरिएको छ।

पार्टीको गत साउनमा पारित विधानअनुसार काम, कर्तव्य र अधिकारको आधारमा अध्यक्षपछिको शक्तिशाली भूमिका महासचिवलाई छ । फेरि महासचिवलाई पार्टीको भावी नेतृत्वको रूपमा पनि हेर्ने गरिएको छ। त्यही भएर पनि नेताहरूको हानथाप महासचिव पदमा भएको हो । माओवादीभित्र पुन पार्टी पदाधिकारीमा पहिल्यै रहिसकेका तर शर्मा भने हालसम्म पदाधिकारी नबनेका भन्दै शर्माको महासचिवमा योग्यता नपुग्ने तर्क पनि हुँदै आएको छ पार्टीभित्र। नेता पुन महासचिव पदको दाबेदारीबाट पछि नहट्ने देखिएका छन्। शर्माको पनि पछि हट्ने सङ्केत छैन । दुवै जनाको पार्टी सङ्गठनमा बर्चस्व छ । प्रचण्डको चाहना पनि सङ्गठकलाई महासचिव बनाउने हो। सोही कारण कसलाई महासचिव चुन्ने भन्नेमा उनी सकसमा छन्। बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यले महासचिवसहितको पदाधिकारी चयन विवादित बनाउन प्रचण्डले नचाहेको बताए। उनका अनुसार १ जनालाई महासचिव बनाउँदा अर्का नेता असन्तुष्ट हुन्छन् र पार्टीमा विवाद हुन्छ । विवादको असर स्थानीय निर्वाचनमा पर्छ।

त्यही कुरा बुझेर प्रचण्डले महासचिवसहितका पदाधिकारी पदमा चयन नगरिएको ती नेताले बताए । बहुपदीय प्रणालीमा गएको माओवादी केन्द्रमा पदाधिकारीमा महासचिवको अतिरिक्त, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष छन्। १९ पुसमा सकिएको आठौँ महाधिवेशनमै पदाधिकारी चयन गर्नुपर्ने थियो तर चयन गरिएन । कारण– त्यसबेला नेता पुन उपचारको क्रममा चीनमा थिए । पुनको पर्खाइमा पदाधिकारी चयन नगरिएको हो । उनी आएको करिब २ महिना हुन लाग्दा बसेको केन्द्रीय समिति बैठकले पनि अन्ततः पदाधिकारी चयन गर्न नसकेको हो । पदाधिकारी चयन गर्दा विचार, कार्यक्रम र नीतिलाई आधार मान्नुपर्ने आवाज पनि उठेको छ।

यसरी स्थानीय निर्वाचनपछि मात्र पदाधिकारी चयनलाई धकेल्नु अध्यक्ष प्रचण्डको ‘चलाखीपूर्ण निर्णय’को रूपमा पार्टीकै नेताहरूले अथ्र्याएका छन् । ‘एमसीसीको विवाद हल भयो’ अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर पार्टीमा उत्पन्न विवाद समाधान भएको अध्यक्ष प्रचण्डले दाबी गरेका छन् । उनले पार्टी एकताबद्ध भएको पनि बताए । ‘एमसीसीलाई लिएर जो समस्या देखापरेको छ, मिडियामा अतिरञ्जित प्रचारहरू पनि देखिएको थियो तर हामीले धैर्यपूर्वक, रचनात्मक ढंगले समाधान ग¥यौँ र पार्टीलाई एकताबद्ध गरेका छौँ’, पार्टी केन्द्रीय समिति बैठकपछि सोमबार प्रचण्डले भने । आगामी २० जेठमा बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीबारे नेताहरूलाई फरक मत राख्न दिने प्रचण्डले जानकारी दिए ।
प्रचण्डको प्रस्ताव विवादित
अध्यक्ष प्रचण्डले सोमबार थप ९७ जना नेताको नाम केन्द्रीय सदस्यमा प्रस्ताव गरे पनि विवादित बनेको छ । प्रस्तावितमध्ये ४७ जना नेताको नाममा विवाद भएको हो।

बाँकी ५० जना भने केन्द्रीय सदस्य भएका छन् । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’का अनुसार विवादित ४७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मेवारी बैठकले अध्यक्ष प्रचण्डलाई नै दिएको छ । फेरि प्रचण्डले प्रस्ताव गर्दा पनि विवादित भएको अवस्थामा निर्वाचन प्रक्रियामा जानुपर्ने कुरा बैठकमा उठेको आङ्बोले बताए । बैठकमा प्रचण्डले छोरी गंगासँगै ज्वाइँ पनि रहेको ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका थिए । तर, नेताहरू सुदन किराती, रामदीप आचार्य, ओम शर्मा, शशी श्रेष्ठसहित २० जना नेताले प्रचण्डले प्रस्ताव गरेको ४७ जना नेताको नाममा असहमति राखेका थिए । यस्तै, स्थायी समिति र पोलिटब्युरो पनि स्थानीय तह निर्वाचनपछि मात्र माओवादीले चयन गर्ने भएको छ ।

माओवादी केन्द्रको विधानअनुसार केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य पोलिटब्युरो रहने उल्लेख छ । पोलिटब्युरोको पनि बढीमा एक तिहाइ सदस्य स्थायी समिति सदस्य चयन हुनेछन् । पार्टीको यी दुवै संरचनामा नेताहरूको चयन निर्वाचनपछि नै हुने भएको हो । त्यसबेला पदाधिकारी चयन पनि हुने भनिएको छ । पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयन गर्न आगामी २० जेठमा केन्द्रीय समिति बैठक बोलाएको नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिए ।
तोकियो निर्वाचन कमाण्डर
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले ‘कमाण्डर’ तोकेको छ । प्रदेश १ मा नेता राम कार्की र मधेस प्रदेशमा गणेश साह कमाण्डर तोकिएका छन् । यस्तै, बाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल कमाण्डर तोकिएका छन् ।

बैठकले सबै केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय भएको छ । केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेर जाने, गठबन्धनका लागि केन्द्रीय तह, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्