एमसीसी : एमसीए अन्तर्गत यी हुन् नेपालमा निर्माण हुने आयोजना



काठमाडौं । अमेरिकी सहयोग कम्प्याक्ट परियोजना (एमसीसी) अनुदान सहयोगबाट नेपालको विद्युत र सडक निर्माणको काम हुने जनाइएको छ । एमसीसीबाट प्राप्त प्राप्त गर्ने अधिकांश अनुदान अर्थात् झन्डै ४५ अर्ब रुपैयाँ विद्युत्‌को अन्तर्देशीय प्रसारण लाइन निर्माणमा खर्च हुनेछ।

बाँकी रकम सडक मर्मत र अन्य विषयमा खर्च हुने बताइएको छ। ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन अन्तर्गत ३ वटा नयाँ ४०० केभी क्षमताको ‘इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेसन’ निर्माण गरिने एमसीए नेपाल विकास समितिको वेबसाइटमा उल्लेख गरिएको छ।

‘नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेसन, तनहुँ जिल्लामा नयाँ दमौली सब–स्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेसन निर्माण गरिने पनि एमसीएको वेबसाइटमा उल्लेख गरिएको छ । आयोजना अन्तर्गत प्रसारण लाइन काठमाडौंको लप्सीफेदी अनि मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित विद्यमान सब–स्टेसनहरूमा जोडिनेछ।

८५६ वटा टावर रहने उक्त प्रसारण लाइनले १० जिल्लाका ३० नगरपालिका छुने बताइएको छ। प्रसारण लाइनको मार्गमा काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला पर्छन्। त्यस्तै सडक मर्मत आयोजना अन्तर्गत लुम्बिनी प्रदेशको राजधानीस्थित भालुवाङबाट महेन्द्र राजमार्ग अन्तर्गतको पश्चिम तर्फ जाने सडकलाई मर्मत गर्ने योजना बनाइएको छ । सडक खण्ड अर्घाखाँची र दाङ जिल्लामा पर्छन्।

प्रतिक्रिया दिनुहोस्