राप्रपा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ : प्रवक्ता शाही



कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेका बताएका छन्। उनले बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका हुन्।

प्रवक्ता शाहीले अब जनताबाट सीधै प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए । उनले मुलुकको हितका लागि संसदबाट प्रधानमन्त्री नभई सीधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नुपर्ने तर्क गरे । प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने जोड दिए । आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेन्डा लिने बताए। नेपालको माटो सुहाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

एमसिसी राष्ट्रघाती भएको भन्दै उनले यो कार्यान्वयन हुन नसक्ने बताए । कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्