निर्माण व्यवसायीको अधिवेशन शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ। साधारण सभा तथा अधिवेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो।

अधिवेशनले आगामी तीन वर्षका लागि महासङ्घमा नयाँ कार्य समिति चयन गर्नेछ । महासङ्घको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ । साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन्।

सम्मेलनमा महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्