प्रहरी हिरासतमै बन्दीको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्



काठमाडौं : प्रहरी हिरासतमै मृत्यु भएका संखुवासभा खाँदवारी–३ का ५२ वर्षीय रवीन्द्रकुमार ढुंगानाको शव बुझ्न आफन्तले इन्कार गरेका छन् ।

 

बैंकिङ कसुरमा पक्राउ परेका ढुंगानालाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नेपालटारबाट आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्दा सकुशल रहेका उनको एकाएक मृत्यु भएको भन्दै प्रहरीले खबर गरेपछि आफूहरूलाई आशंका लागेकाले शव नबुझेको आफन्तले जनाएका छन् ।

 

ढुंगानाको शव वीर अस्पतालमा राखिएको छ । ‘पक्राउ पर्दा आइतबार उनी सकुशल थिए । एकाएक सोमबार मृत्यु भएको खबर आयो । यसमा हामीलाई शंका छ । त्यसैले शव बुझेका छैनौँ,’ मृतकका भाइ शान्तिरामले भने ।

 

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको थियो । सोमबार बिहान ७ बजे उनी एकाएक बेहोस भएपछि उपचारका लागि वीर अस्पताल लगियो । तर, उपचारकै क्रममा उनको मृत्यु भयो । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्