‘कन्स्ट्रक्सन होलिडे’को खतरा



काठमाडौं । निर्माण सामग्रीको बजार भाउ दैनिक रूपमा वृद्धि हुन थालेपछि व्यवसायीहरू काम रोक्न तयारीमा छन् । सत प्रतिशतसम्म निर्माण सामग्रीको मूल्य बढेकाले व्यवसायीहरू केही समय काम रोक्ने गरी ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने तयारीमा रहेका हुन् ।
फलाम, बिटुमिनलगायतका निर्माण सामग्रीको बजार भाउ र ढुवानी मूल्य बढ्दा परियोजनाको लागत वृद्धि भएको छ । ठेक्का कबुल गर्दाको बजार भाउ र अहिलेको बजार भाउ सत प्रतिशत बढेकाले निर्माणको काम रोक्नुपर्नेमा व्यवसायीहरूको जोड छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजार भाउ उच्च भएकाले ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने स्थिति सिर्जना भएको बताए । ‘सत प्रतिशतसम्म मूल्यवृद्धि र बजारमा कृत्रिम अभाव सिर्जना भएकाले निर्माणको काम अगाडि बढाउन समस्या भएको छ’, सिंहले भने ।
सिंहका अनुसार फलामजन्य सामग्री तथा बिटुमिनमा सत प्रतिशत र इन्धनमा ६६ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । फलामजन्य वस्तुको मूल्य हरेक दिन बढ्दै गएको छ । आज बेच्ने सामान भोलि बिक्री गर्‍यो भने थप नाफा हुने भएकाले बजारमा सामान बेच्नेभन्दा लुकाउने क्रम बढेको सिंहको आरोप छ ।
रुस–युक्रेन युद्धका कारण डलर र इन्धनको मूल्य वृद्धि हुँदा अन्तर्राष्ट्रिय रूपमा भाउ बढेको व्यवसायीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा धेरै दिनसम्म नघटाउने तर बढ्दा भोलिपल्टै बढाउने प्रवृित्त रहेको व्यवसायीहरूको गुनासो छ ।
फलामजन्य सामग्रीको मूल्य वृद्धि भए पनि सिमेन्टको मूल्यमा भने अझै वृद्धि नभएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाको दाबी छ ।
आर्थिक वर्षको ८ महिना बित्दै गर्दा पुँजीगत खर्चको अवस्था निराशाजनक रहेको स्थितिमा ‘कन्स्ट्रक्सन होलिडे’ भए देशको अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न हुने विज्ञहरूको धारणा छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार २७ फागुनसम्म कुल पुँजीगत खर्च १९ दशमलब ७५ प्रतिशत मात्र भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा कुल पुँजीगत खर्च ९० प्रतिशत पु¥याउनुपर्ने भनेर दिएको लक्ष्यलाई महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले व्यंग्य गरेको छ । पुँजीगत खर्च कम हुँदा वित्तीय प्रणालीमा तरलता बढेका बेला मूल्य वृद्धिले थप समस्या सिर्जना गरेको छ ।
सरकारी निकायले भुक्तानी रोक्दा पनि निर्माण व्यवसायीहरूलाई समस्या परेको व्यवसायीहरूको गुनासो छ । अध्यक्ष सिंहका अनुसार अहिले ३५ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारी निकायले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी छ ।

‘कन्स्ट्रक्सन होली डे’ नमनाउन मन्त्री झाँक्रीको आग्रह
काठमाडौं÷टीएनटी– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘कन्स्ट्रक्सन होली डे’ नमनाउन आग्रह गरेकी छन् । उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन निर्माण व्यवसायीसँग आग्रह गरिन् ।
उनले विश्व बजारमा अर्थतन्त्रमा आएको मन्दीका कारण महँगी बढेको बताइन् । अहिलेको महँगी आफूहरूको नियन्त्रणभन्दा बाहिर रहेको मन्त्री झाँक्रीको भनाइ छ ।
‘विश्व बजारमा आएको अर्थतन्त्रको मन्दी रुस–युक्रेनबीचको युद्ध मात्र होइन, खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु, भारतीय मुद्राको अवमूल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नुपर्ने कारण हो’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्