पत्नीको मोलमोलाई गर्ने यो पुरुष



नवलपुर : उमेर २७ वर्ष, पूर्वी नवलपरासीको सामुदायिक रेडियो मध्यविन्दुमा काम गर्दै गर्दा आएको विवाह प्रस्ताव राधाले मात्र होइन, सबैभन्दा प्यारो र साथी जस्तै भाइ, हजुरबुबा, हजुरआमा, बुवाआमा, दिदीभिनाजु सबैले स्विकारेका थिए, केटा हेर्दा खाइलाग्दो, काठमाडौँको हनुमान ढोका बहुउदेश्यीय सहकारी संस्था न्यूरोड पशुपति प्लाजामा व्यवस्थापकको काम गर्ने ।

नवलपरासीको पहाडी भेग रुचाङबाट कावासोती ३ संगमचोकमा आमाबुवा सँगै बसाई सरेर आएका थिए, अस्मिन भट्टराई । अर्थात् कावासोती ४ की राधा बस्यालका श्रीमान् । २०७४ साल फागुनको कुरा हो, आफन्तसङ केटी हेर्न आएका अस्मिनले केटी मन पराएँ, राधाका हजुरबुबाले पटक पटक सोधेँ, ‘केटी मन नपरेको भए, बिहे गर्न मन नभए समयमै भन्नु है बाबु, पछि अप्ठ्यारो परे नराम्रो हुन्छ ।’ तर अस्मिनले पटक पटक मन परेर आफूखुसी बिहे गर्न लागेको बताइरहे ।

फागुन २९ गते जनै सुपारी गरेर ३० गते स्थानीय मन्दिरबाट बिहेवारि सकियो । बिहे लगत्तै राधालाई पनि लिएर उनी काठमाडौँ हानिए । बिहे गरेकै केही दिनपछि अस्मिनको असली रूप राधाले देखिन्, राधालाई बुवाआमाको करमा बिहे गरेको भन्दै मानसिक र शारीरिक रूपमा चरम यातना दिन थाले अस्मिनले । श्रीमानको कुटाई बाट थला परेकी राधा विसन्चो भएपछि अस्पताल पुगिन् जँचाउन। उनलाई छाती ९स्तन०मा दुख्थ्यो ।

पहिला सामान्य भनीएपनि स्तनमा देखिएका गिर्खा अपरेसन गर्नुपर्ने भयो । तर उपचारका लागि श्रीमान् तयार थिएनन् । बिहे गरेको केही दिनमै उनी एकाबिहानै निस्केर राती अबेर अनेक केटासाथीहरुसहित भाडाको डेरामा पुग्थे । राती उनको पहिलो काम श्रीमतीलाई तनाव दिनु भर्कुनु । बिरामी राधालाई असह्य हुन थाल्यो । १५ दिनजती काठमाडौँ बसेर उनी कावासोती ३ मा रहेको घरमा आइन्, जहाँ सासू र ससुरा थिए ।

१ महिना जति कावासोती बसेपछि उनी काठमाडौँ घरमा गइन्, अस्मिनले कलंकी एल आर आइ कलेज नजिकै खड्का टोलमा घर किनिसकेका थिए । सासुससुरासहित काठमाडौँ पुगेकी उनलाई त्यहाँ झन् हिंसा हुन थाल्यो ।

राधाले यी सबै कुरा आफूभित्रै गुम्साइन । जब उनको अपरेसनको समय आयो । श्रीमानको हिंसाबारे भाइलाई मात्र केही कुरा सुनाइन् । भाइ अब दिदीको अवस्थाबारे अपडेट लिन थालेका थिए । पटक पटक अस्मिनलाई सम्झाउन खोज्थे, अस्मिन उल्टै उनलाई पनि थर्काउँथे ।

राधाको स्तनको अपरेसन भयो । अपरेसन पछि काठमाडौँको घरमै रहेकी उनलाई श्रीमान् र सासूले तनाव दिन थाले । ससुराले उनलाई कुनै नराम्रो भने गरेका थिएनन् । बिरामी बुहारीलाई खाना, पानी सोध्ने उनै थिए । सासूले बिहेमा दाइजो नल्याएको भनी रहन्थिन्, जस्तो परेपनि सहनुपर्छ भन्दै सुनाउँथिन् । 

जेठ १६ गतेको घटना हो, अपरेसनपछि बिस्तारामा परेकी उनलाई माइतीको बुवाले उनीहरूकै जिम्मामा छोडेर फर्किनुभयो । कोठामा एक्लै भएकी उनी राती पानी खान तिर्खाले छट्पटाईन श्रीमान्, देवर, भान्जा कसैको फोन नउठेपछि उनी आत्तीदै भाइ र बुवालाई फोन गरिन् ।

तत्काल भाइ पुगेर पानी खुवाए । बेलुकासम्म बुवा र भिनाजु पुगेर ज्वाइँलाई सम्झाउने प्रयास गरे । उनलाई स्तन क्यान्सर भएको थियो । उपचार चलिनै रहेको थियो, राधालाई दिल्ली लैजानुपर्ने भयो । नेपालमा त अस्पतालले अन्तिम अवस्थामा रहेको र अब बाँच्ने सम्भावना नरहेको नै भनेको थियो, सायद राधाको साहसले काललाई पनि जित्यो कि, उनी अहिले पहिलेकै अवस्थामा फर्कँदै छिन् ।

बुवाले उन लाइ दिएर दिल्ली जानुभयो । यसबिचमा उपचारका लागि भन्दै कैयौंपटक राधाले अस्मिनलाई फोन गरिन्, दिल्लीमा पैसा अभाव हुन्थ्यो, बुवाले ऋण धन गर्दै उपचार गराउनुभयो । अस्मिनले उपचारको कुरा निकाल्दा सधैँ थर्काउँथे, घर किनेको पैसा तिरेको छैन, तेरो उपचारलाई पैसा पठाउन सक्दिन भनेर । यसबिचमा राधाको जीवनको क्यालेन्डरले धेरै पाना पल्टायो । एक वर्षको अवधिमा अस्मिनको यातना, सासुको कचकच, बिरामी शरीर, मृत्युको पर्खाइ, भारतको उपचार, बुवाको खटन, राधालाइ जुगौं जुग जस्तो लागेको थियो । शरीरमा पटक पटक चढाइएको केमीयोथेरापीका कारण राधाको शरीर बाँसको सिप्टिनो जस्तो भएको थियो ।

कपाल पुरै झरेको थियो । यसबिचमा पनि उनी एउटा साहस भने गर्थिन् । कसैसङ बोल्नुपरे हाँसेर बोल्थिन् ।  राधाको उपचार चलीरहेको थियो, गत वर्ष भदौ ७ गते म र उनको भाइ प्रकाश महिला आयोगमा समस्या लिएर गयौं, आयोगले श्रीमान् श्रीमती बोलाएर दुइपक्षमा सल्लाह गराउने भन्यो, हामीले राधा बिरामी भएकाले आउन नसक्ने र उनको तर्फबाट हामी कुरा गर्छौ भन्यौं । केही दिनपछि आयोगमा अस्मिन आफ्नो वकिल सहित पुगे ।

अस्मिन जसरी आयोगमा प्रस्तुत भए, त्यसले म छाँगाबाट खसेझै भएँ, अस्मिनको प्रस्तुति राधालाई पूर्णतः दोष लगाउने थियो । उनी बिरामी श्रीमती प्रति एक रति पनि दया माया नभएका उल्टै राधाको दोष देखाउने र फसाइएको तर्क गरिरहे । आयोगमा सबै घटनाका साझा हामीसँग उनले दाबी पनि गरे उपचारमा सघाइरहेको भनेर । आयोगमा एक दिन पुरै बहस भयो । पहिलो प्राथमिकता राधाको उपचार भन्दै एउटा कागज गरियो ।

आश्चर्य त के भने उनले ल्याएका ती वकिलले पनि हाम्रै पक्षमा पहिला श्रीमतीको उपचार र रेखदेख भनेर अस्मिनलाई बुझाउन खोजे ।

तर, त्यसपछि पनि अस्मिनको व्यवहारमा कुनै परिवर्तन आएन, राधालाई आयोगमा भएको घटनाबारे जानकारी गराइएन्, राधाको अगाडी अस्मिनले वास्ता गरेका छन् भनेर झुट बोलेर सान्त्वना दिने प्रयास भने नगरिएको होइन । 

पाँचौँ केमियोथेरापी सकिएपछि फागुनदेखी राधा विस्ताराबाट उठेर बाहिर घुलमिल हुन थालिन्, बिस्तारै छरछिमेक र नजिकैको वुवाको कार्यालयमा पुगेर कम्युटरमा काम गर्न समेत थालिन् । भरतपुर क्यान्सर अस्पताल र दिल्ली समय समयमा पुग्नुपथ्र्यो । उनमा परिवर्तन आइसकेको थियो । कपाल पलाउन सुरु ग¥यो, शरीर केही मोटाउन थाल्यो । उनले पहिला गर्दै आएको पत्रकारितालाई फेरी निरन्तरता दिने सोचिन् ।

रेडियो मध्यविन्दुमा महिलाकै सवाल हिंसा र कानुनी उपचारबारे साप्ताहिक बहस सुरु गरिन् । यसबिचमा राधा क्यान्सर सचेतना फाउन्डेसन खोलिन् । संस्थाको माध्यमबाट गाउँ गाउँमा क्यान्सरबारे मात्रै होइन महिलामाथि हुन सक्ने हिंसाका घटनाबारे पनि जानकारी गराउँदै छिन् ।

तर यसबिचमा राधा निको हुँदै गएपछि अस्मिनले पटक पटक फोन गरेर, अरू आफन्तलाई फोन गर्न लगाएर राधालाई तनाव दिरहेका छन् । उनी राधालाई पैसा दिएर छोड पत्र गर्न भनिरहेका छन्, पटक पटक कावासोतीमा सरोकारवाला बुद्धिजीवीका बिचमा बसेर अस्मिनपक्ष र राधापक्षविच छलफल भएको छ ।

राधाको अहिलेसम्म विवाहदर्ताको प्रमाणपत्र बनेको छैन । विवाहदर्ताका लागि आग्रह गर्दा अस्मिनले नै मानेका छैनन् । ‘उपचार र विवाह दर्ता गर्न नमान्ने श्रीमान् पैसा दिएर किन छोड पत्र गराउन खोज्दैछन्, मेरो निर्शत अधिकार हो, विवाह दर्ता, त्यसपछि मात्र अरू विषयमा छलफल हुन्छ ।’ राधा भन्छिन् ।

राधालाई विवाह पूर्व विवाह पछि, बिरामी हुँदाको बखत र अहिले रोगलाई जितिसकेको अवस्थासम्म मैले नजिकबाट चिनेकी छु । अहिले बिरामी श्रीमतीको मोलमोलाइ गरेर छोड पत्र माग्ने अस्मिनलाई कानुनी र सामाजिक उपचार खोजीरहेकी छन्, राधा ।

‘एउटी महिलालाई, श्रीमतीलाई हिंसा गर्ने पुरुषलाई सामाजिक सङ्घ संस्थामा बस्न कुन सामाजिक  न्यायको सिद्धान्तले दिन्छ दिदी रु’ उनले मलाई सोधेकी थिइन् ।उनीमाथी भएको अन्याय र हिंसाबारे आज यो लेखिरहँदा भन्न मन लागेको छ, ‘प्रिय राधा, तिमिलाई परेको बज्रपातप्रति मसँग कुनै शब्द छैनन्, जहाँसम्म तिम्रो साहस देखिरहेकी छु, तिमी सतिसाल झैँ उभिइरहनु, अत्याचारी अस्मिनको विरुद्ध, तिम्रो आवाज नै उसको गालामा बज्रेको झापड हो ।

राधा यस्तासङ लड्ने भनेकै हाम्रो विवेकको हतियारबाट हो । यी त रगत चुस्ने जुका न हुन् एक छिन छाला छुन नदिए छटपटाएरै मर्छन् । मार्नु त यसरी जो बाँच्न पनि नचाहोस् र मर्न पनि नसकोस् । तिम्रो मोलमोलाइ नै उसको असली औकात हो । नआत्तिउ साथी हामी मिलेर उसलाई कानुनी रूपमै राम्रोसँग सम्मान गरौँला । मौका मिले नगर परिक्रमा गराउँला ता कि अर्को कुनै उजस्तै मानवले कुनै महिलाको मोलमोलाइ गर्नु पूर्व हजार पटक सोचोस् ।’

जनआस्था साप्ताहिक बाट साभार 

प्रतिक्रिया दिनुहोस्