सार्वजनिक यातायातको भाडा बढाउने व्यवसायीको चेतावनी



काठमाडौं । सरकराले यातायातको भाडा समायोजन नगरे यातायात व्यवसायीहरुले एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । सरकारले आफूहरुको माग पूरा नगरे उनीहरुले चैत ८ गतेबाट भाडा बढाउने चेतावनी दिएका हुन् ।
विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीहरुको गुनासो छ । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समायोजन आजको आवश्यकता भएको उनीहरुले भनेका छन् ।
आइतबार काठमाडौंैमा पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले चैत ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिए।
व्यवसायीका अनुसार हालः तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।
त्यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइयो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराए ।
गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्