महिलामन्त्री रेग्मी अमेरिका प्रस्थान



काठमाडौं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६६औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन् ।
मन्त्री रेग्मीसँगै मन्त्रालयका सचिव, सह सचिव, महिला विज्ञ गरी ६ जनाको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको हो । मन्त्रिपरिषद्बाट स्वीकृत ८ जनाको भ्रमण टोलीमध्ये दुई जना राष्ट्रसंघका प्रतिनिधि अमेरिकामै रहेकाले नेपालबाट ६ जनाको टोली न्युयोर्क गएका हुन् ।
महिलाको अवस्थासम्बन्धी आयोगको ६६औँ अधिवेशन राष्ट्रसंघको मुख्यालय न्युयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्चसम्म हुनेछ ।
सीएसडब्ल्यूले महिला अधिकारको प्रवर्द्धन गर्न, विश्वभर महिलाको जीवनको वास्तविकतालाई दस्तावेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तिकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तिकरणमा जलवायु परिवर्तन, वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्ने उनको सचिवालयले जनाएको छ ।
मन्त्री रेग्मीको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक राजकुमार लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्