वीरगन्जको नेपाल हर्बल उद्योगमा छापा



वीरगन्ज । सरकारी अनुगमन टोलीले वीरगञ्जको एक उद्योगमा छापा मारेर म्याद गुज्रिएका कस्मेटिक सामान जफत गरी नष्ट गरेको छ । वीरगञ्ज–१० आदर्शनगरस्थित नेपाल हर्बल इण्डस्ट्रिज उद्योगमा अनुगमन टोलीले छापा मारेर ६३ लाख रुपैँयाभन्दा बढी मूल्यको म्याद गुज्रिएका कस्मेटिक सामानहरु बरामद गरी नष्ट गरेको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको अनुगमन टोलीले हर्बल उद्योगमा पुगेर म्याद गुज्रिएर प्रयोगका लागि अयोग्य भएका सामानहरु नष्ट गरेको हो ।
टोलीले उक्त हर्बल उद्योगमा छापा मारेर म्याद गुज्रिएका ६३ लाख ६२ हजार १ सय ३५ रुपैँया मूल्यका कस्मेटिक सामान जफत गरी जलाएर नष्ट गरेको हो ।
उद्योगको गोदाममा भण्डारण गरी राखिएका म्याद गुज्रिएका क्रिम, कपालमा लगाइने जेल, रंग, नङ–पोलिसलगायत ३२ हजार ५ सय ६ थान कस्मेटिक सामान जफत गरी नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख दिलीप खङखत्वेले जानकारी दिए ।
अनुगमन टोलीका प्रमुख श्रीवास्तवका अनुसार विश्वकरण जैन सञ्चालक रहेको उक्त हर्बल उद्योगले म्याद गुज्रिएका कस्मेटिक सामानहरु पनि बजारमा बिक्री गरिरहेको सूचना स्थानीय प्रशासनलाई प्राप्त भएको थियो ।
उद्योगका सञ्चालक जैन आइतबार उद्योगमा नभेटिएकाले उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्