तनहुँमा जिप दुर्घटना, ३ जनाको मृत्यु



तनहुँ । तनहुँमा सडक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए। टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन्।

तिमध्ये टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए। दुर्घटनामा मृत्यु भएका मध्ये एक जनाको मात्र पहिचान खुलेको उनले बताए।

मृतक मध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको उनले बताए। अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उनले बताए। ‘चितवनमा उपचारको क्रममा ३ जनाको मृृत्यु भएको हो’, डिएसपि खड्काले भने।

टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो। बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ। उनीहरुको अवस्था सामान्य छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्