बैशाखभित्र रुससँगको युद्ध अन्त्य हुनसक्ने युक्रेनको संकेत



एजेन्सी । युक्रेनले रुससँगको जारी युद्ध चाँडै अन्त्य हुनसक्ने बताएको छ । युक्रनका एक अधिकारीले जारी युद्ध बैशाखभित्र अन्त्य हुनसक्ने बताएका हुन् । रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुनसक्ने उनले बताए ।

युक्रेनी राष्ट्रतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिकले रुससँग चाँडै नै शान्ति सम्झौता हुन सक्ने भन्दै वैशाखभित्रमा जारी युद्ध अन्त्य हुने बताएका छन् ।

सोमबार सार्वजनिक गरिएको एक भिडियोमा अरेस्टोभिकले रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने बताएका हुन् । शान्ति सम्झौतापछि युक्रेनबाट रुसी सेना फिर्ता हुने पनि उनको भनाइ थियो । जारी युद्ध चर्किँदै गए रुसको सैन्य स्रोत-साधन कम हुँदै जाने र बैशाखमा युद्ध अन्त्य हुन सक्ने पनि उनको भनाइ थियो ।

शान्ति सम्झौतापछि एक वर्षसम्म फाटफुट भिडन्त हुन सक्ने तर आफूहरूले युक्रेनबाट सबै रुसी सैनिकको बहिर्गमनलाई विशेष जोड दिने पनि उनको भनाइ थियो । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको २० दिन भइसकेको छ ।

यस अवधिमा सैयौंको मृत्यु भइसकेको छ भने युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् । मानवीय संकट बढ्दै गएपछि दुबै पक्षले साझा बिन्दु खोजेर जारी युद्धलाई अन्त्य प्रयास समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्