अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च छ: मन्त्री प्रदीप ज्ञवाली



 

काठमाडौँ : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताएको छ । 

 

दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताए।

 

उनले संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगत्ले चनाखो भएर सुनेको उल्लेख गर्दै नेपालको छवि विगतको तुलनामा उच्च भएको बताए । 

 

दक्षिण सुडान, अफगानिस्तान र म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै उहाँले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको बताए ।

 

सङ्घीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीको भनाइ थियो । उहाँले समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काम भइरहेको बताए। 

 

नेकपाका केन्द्रीय सदस्य हिमाल शर्माले पछिल्लो समयमा नेपालको परराष्ट्र सम्बन्धमा सुधार आएको बताए । अर्का केन्द्रीय सदस्य बलराम बास्कोटाले चाडपर्वपछि सरकारले गति लिने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्