जसपा विवादको ‘च्याप्टर क्लोज’, हेडक्वार्टर गठनले बाबुराम ‘ब्याक’



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको आन्तरिक विवादको ‘च्याप्टर क्लोज’ भएको छ । राजधानीमा चलेको २ दिने केन्द्रीय समितिको बैठकमा आपसी सहमति जुटेपछि आन्तरिक विवादको च्याप्टर क्लोज भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गर्न थालेको आरोप लागउँदै जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा बेग्लै समूह खडा भएको थियो ।
संघीय परिषद् अध्यक्ष डा. भट्टराईको नेतृत्वमा रहेको समूह बहुल अध्यक्ष प्रणालीको माग गर्दै विरोधमा उत्रिएको थियो । माग सम्बोधन नभए पार्टी फोड्नेसम्मको तयारीमा डा. भट्टराई समूहको तयारी थियो ।
आन्तरिक विवादमा अध्यक्ष यादव अल्पमतमा पर्न थालेपछि अन्तिम समयमा विपक्षी समूहले राखेको शर्त पूरा गर्न तयार भए, जुन कारणले राजधानीमा २ दिने केन्द्रीय समितिको बैठक सम्भव भयो ।
बैठकमा आपसी सहमति जुटेपछि फुटको सङ्घारमा पुगिसकेको जसपाको विवाद मत्थर भएको छ । आपसी सहमति जुटिसकेपछि नेताहरू आफूमा कुनै विवाद नरहेको सन्देश दिन प्रसन्न मुद्रामा हात जोडेर तस्बीरसमेत खिच्न भ्याए ।
जसपाका एक नेताका अनुसार उक्त तस्बीरको अरू कनुै ठूलो कारण नभई खाली कार्यकर्ताहरूमा आफूहरू सबै एक नै रहेको सन्देश दिनु हो । राजधानीमा चलेको बैठकबाट पुनः जसपा कार्यकर्तामा उत्साह बढेको जसपाका एक कार्यकारिणी समिति सदस्य बताउँछन् ।
केके भयो सहमति ?
काठमाडौंमा २९ र ३० फागुनमा भएको जसपा केन्द्रीय समितिको बैठकलाई ऐतिहासिक बैठकको रूपमा लिइएको छ । कारण, यही बैठकबाट पार्टी फुटबाट जोगिएको हो । त्यही कारणले जसपाका नेताहरूले यस बैठकलाई महŒवपूर्ण बैठक ठानेका छन् ।
बैठकमा संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले बहुल अध्यक्ष प्रणालीमा जाने माग गरेका थिए । जसपा केन्द्रीय सदस्य फिरोज मन्सुरका अनुसार तर त्यसमा अधिकांश केन्द्रीय समिति सदस्यहरूले विरोध जनाए । उनले भने, ‘बाबुरामजीको यो प्रस्तावमा नजान सबै जनाको सुझाव आयो, बहुल अध्यक्ष प्रणाली लागू भएको पार्टी सफल नभएकाले त्यसतर्फ नजान सहभागीहरूबाट नै सुझाव आयो । अनि, स्वतः बाबुरामजी अल्पमतमा पर्नुभयो ।’ त्यसपछि उक्त प्रस्ताव खारेज गरिएको केन्द्रीय सदस्य मन्सुर बताउँछन् ।
उनका अनुसार तर पार्टीलाई मजबुत बनाउनका लागि भट्टराईको चित्त बुझाउनका लागि वैकल्पिक बाटो अपनाइयो । ‘त्यो भनेको अब कुनै पनि निर्णय एकल अध्यक्षबाट नभएर ३ जनाले गर्ने सहमति भयो, जसको नाम दिइयो– हेडक्वार्टर’, उनले भने, ‘यही हेडक्वार्टरले अब सबै निर्णय गर्नेछ, जसमा बाबुरामजीले पनि सहमति जनाउनुभयो ।’
जसपामा गठन भएको हेडक्वार्टरमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई छन् । अब केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू नहुँदा पनि यही हेडक्वार्टरबाट सबै निर्णय हुनेछ ।
मूलतः यही सहमतिले पार्टीभित्रको विवाद अन्त्य भएको केन्द्रीय सदस्य मन्सुरको भनाइ छ । यसैगरी पार्टीभित्र निष्ठावान् र कर्मठ व्यक्तिलाई मात्र अब टिकट दिने सहमति भएको उनी बताउँछन् ।
पुनः उपेन्द्रकै जीत
मधेस केन्द्रित दलहरूमा सक्रिय नेताहरूमा उपेन्द्र यादव राजनीतिक खेलाडी मानिन्छन् । जसपाका नेताहरू भन्छन्, ‘उनी जता गए, उतै लहर भन्ने दन्त्यकथा सुनिन्छ । जुन दन्त्यकथालाई उनै अध्यक्षबाटै पुष्टि हुने अवस्था छ ।’
पहिलोचोटि आफैँले जन्माएको पार्टीमा अध्यक्ष यादव अल्पमतमा पर्दै गएका थिए । उनी नजिकका नेताहरू उनको विपक्षी मोर्चामा खडा भएपछि पछिल्लो समय पूरै पार्टीमा अल्पमतमै परेका थिए यादव ।
उनी नजिकका एक सांसद भन्छन्, ‘त्यसपछि उनी पहिला आफू बलियो बन्ने रणनीति लिए । त्यही क्रममा विपक्षी मोर्चामा रहेका आफ्ना सांसदहरूलाई फकाउने काम गरे । त्यस क्रममा कतिपयको कारबाही फिर्ता भयो भने कतिले उठाएका अन्य माग सम्बोधन भए ।’
त्यही दौरान केन्द्रीय समितिको बैठक राखेर सबै विवाद सुल्झाउने प्रयास भयो । ती सांसद भन्छन्, ‘मूलतः त्यही रणनीतिले जसपा विवाद सुल्झेको छ, यो रणनीतिले पुनः पार्टी अध्यक्षले नै बाजी मारेको पार्टीभित्र चर्चा पनि छ । उनको रणनीतिबमोजिम नै अहिले सबै कुरा भयो ।’
जसपाभित्र खडा भयो पुनः अर्को गुट
पार्टीभित्र पुराना जसपा नेताहरूबीच विवाद हुँदा डा. भट्टराई समूहको पक्षलाई राजपाबाट गएका नेताहरूले पनि सघाएका थिए । तर, २ दिने बैठकमा भएको सहमतिमा राजपाबाट जसपा भएका नेताहरूलाई भागबण्डामा नराखेपछि उनीहरू पनि असन्तुष्ट बनेका छन् ।
पूर्व राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरू सङ्गठित भएका छन्, जसको नेतृत्वको जिम्मा जसपामा पूर्व राजपाका तर्फबाट महिन्द्रराय यादवलाई दिइएको छ ।
जसपामा अहिले पूर्व राजपाका तर्फबाट महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, मनीष सुमनलगायत नेताहरू छन् । यी नेताहरूमध्ये कोही संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा त कोही पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा ।
यहीबीचमा पार्टीभित्र उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईबीच भागबण्डाको राजनीति हुँदा पूर्व राजपालाई भने उपेक्षा गरिएको निष्कर्षका साथ उनीहरू पनि सङ्गठित भएका एक नेता बताउँछन् ।
पूर्व राजपाका एक नेताका अनुसार त्यही कारणले एकजुट हुनुपरेको हो । ५०४ सदस्यीय केन्द्रीय समितिमा पूर्वराजपाका मात्र १३० जना रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्