हामीले करिश्मालाई पढ्न दुई वर्ष छुट्टी दिएका थियाैं : डा. बाबुराम भट्टराई



बिहीबार सार्वजनिक एसईईमा बी प्लस ल्याएर उत्तीर्ण भएकी अभिनेत्री करिश्मा मानन्धरलाई आफ्नाे पार्टीले पढ्न छुट्टी दिएकाे समाजवादी पार्टीका डा बाबुराम भट्टराईले बताएका छन्। 

एसईईमा उत्तीर्ण भएपछि आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुसी साट्न पुगेकी नायिका मानन्धरले पनि डाक्टर भट्टराइसँग सम्बन्ध बिगारेको कुरालाई अस्वीकार भएकाे बताइन्। उनले भनिन्, ‘सही कुरा सही ठाउँमा हुनुपर्छ। सही कुरा गलत ठाउँमा भयो त्यसको महत्व हुँदैन।’ उनले असम्भव भन्ने कुरा केही पनि नभएकाले पनि आफूले फेरि राजनीति गर्ने कुरालाई नकार्न नमिल्ने बताइन्।

केही दिनअघि चलचित्र ‘जात्रै जात्रा’ हेर्न काठमाडाैंको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ वर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए। उनले भनेका थिए, ‘उहाँलाई हामीले छुट्टी दिएका हौं। उहाँ एउटा राम्रो कलाकार हो। २ वर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनुभएको थिएन। उहाँले १२ कक्षासम्म पढ्छु भन्नुभएको छ। यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो।’

नायिका मानन्धरले आफू घर नजिकैको सरकारी कलेजमा पढ्ने बताउँदै आएकी छन्। सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न पनि आफूले सरकारी कलेज रोजेको उनले बताइन्।

उनलाई, अध्ययनका लागि गोल्डेन गेटका शिक्षक घरमै भेट्न पनि पुगेका थिए। तर, उनले सरकारी कलेज नै पढ्ने अडान राखेकी छन्। उनले आफूले व्यवस्थापन नै पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठिक भएको पनि स्पष्ट पारेकी छन्।

प्रतिक्रिया दिनुहोस्