पेट्रोलियम पर्दाथको मूल्य फेरि बढ्ने !



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्नसक्ने देखिएको छ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने मूल्य बढेर आएसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको हो । भारतबाट मूल्य बढेर आएपनि निगमले भने अहिलेसम्म उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएको निगमको भनाइ छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको आयोगको भनाइ छ । तर, मट्टितेल, हवाइ इन्धनमा भने निगम अझैपनि नाफामै छ । यस्तै एलपी ग्यासमा निगमले ६६५.३४ रुपैयाँ घाटा छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्