पार्टी भित्रै पदका लागि झगडा भयो : प्रचण्ड



काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) पार्टीमा पदका लागि झगडा भएको बताएका छन् । युद्धको समयमा शहीद बन्न तँछाडमछाड गर्नेहरू आज पदका लागि मरिहत्ते गरेको बताएका हुन् ।  

काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टताका साथै अराजकता र गुटबन्दी बढेको समेत बताएका छन् । 

पार्टीमा कुनै पद पाइन भन्दै रुने कराउने र पार्टी छाडेर भाग्नेको जमात नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति  प्रचण्डले आक्रोश समेत व्यक्त गरेका छन् । पार्टीमा अहिले पद र पैसाका लागि अर्कै ढंगले व्यवहार देखाउन थालेको भन्दै दुःख व्यक्त गरेका छन् ।  

अध्यक्ष प्रचण्डले क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भएको भनिएपनि वास्तवमा त्यस्तो हुन नसकेको भन्दै क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको बताएका छन् । 

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तरराष्ट्रिय सेटिङ अनुरुपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङ​लाई आफूहरुले भत्काउन सफल भएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्