एमसीसीको बहस गर्न टाउको र दिमाग खुला राख्नुहोस् : नारायकाजी श्रेष्ठ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा बहस गर्न टाउको र दिमाग खुल्ला राख्न नेता कार्यकर्तालाई निर्देशन गरेका छन् । उनले बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएको हो ।

श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने बताए । एमसीसीबारे बुधबारको कार्यक्रममा केही नबोल्ने भन्दै उनले स्थानीय निर्वाचनपछि पार्टीभित्र व्यापक बहस हुने बताए । उनले एमसीसीबारे पार्टीमा मतभेद रहेको कुरा सत्य भएको बताए । ‘जेठ २० बाट एमसीसीबारे राष्ट्रव्यापी बहस चलाउँछौ । यो ठिक कि वेठिक भनेर । त्यतिखेर पनि तपाईहरुले टाउको र दिमाग खुला राख्नुहोला’ श्रेष्ठको कार्यकर्तालाई भने ।

उनले एमसीसीको मतभेदको विषयमा निर्वाचन अघि नबोल्ने पनि बताए । उनले एमसीसीको १२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा हाम्रो पार्टीले पनि अनुमोदन गर्न सघाएको विषय अध्यक्षले नै बताउने बताए । उनले एमसीसी सम्झौताका बारेमा एक दुईवटा कुरामा पहिलादेखि पार्टीले स्पष्टता हासिल गरेको बताए ।

उनले एमसीसी सम्झौता अमेरिकाको आर्थिक अनुदान परियोजना मात्रै नभएको दाबी गरे। यो सम्झौता ट्वीन टावरको घटनापछि अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थलाई ध्यानमा राखेर अमेरिकाको विचार, राजनीति आर्थिक नीति, सामाजिक मान्यतालाई संसारभर अनुदानको रुपमा विस्तारित गर्दै अमेरिकाको सुरक्षा गर्ने भन्ने विशिष्ट प्रकारको परियोजना भएको श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्