‘लप्पन छप्पन-२’ मा शिव श्रेष्ठ



काठमाडौं : चलचित्र ‘बागमती’बाट नायक शिव श्रेष्ठले निकै नै ठूलो आशा राखेका थिए। तर, यो चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल भयो। निर्माताको ठूलो रकम डुब्यो। शिव आफैँले बनाउने भनेको चलचित्र पनि बनाउन सकेनन्। यही बीचमा शिवले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ नामक चलचित्र निर्माणको सुरुवात गरेका थिए।

तर, शिवका छोराले आफ्नो भूमिका मन नपरेको भन्दै बीचमै काम नगरेपछि यो चलचित्र रोकिएको बुझिएको छ। यो चलचित्रमा नायक श्रेष्ठको पनि अभिनय थियो। नायक शिव श्रेष्ठ अब भने अर्को एक नयाँ चलचित्रमा काम गर्न तयार भएका छन्। चलचित्र ‘लप्पन छप्पन २’ मा अभिनेता शिव श्रेष्ठ पनि अनुबन्ध भएका छन्।

केही दिनअघि फिल्म ‘प्रेम गीत ३’ मा पनि श्रेष्ठ अनुबन्ध भएका थिए। सो फिल्ममा श्रेष्ठले प्रदीप खड्काका बुबाको भूमिका निभाउने जनाइएको छ। ‘लप्पन छप्पन २’ मा पनि अभिनेता श्रेष्ठलाई बुबाकै भूमिकामा उनले अभिनय गर्ने भएका छन्। उनले यो फिल्ममा अभिनेता सौगात मल्लको बुबाको भूमिका निभाउने जनाइएको छ।

निर्माण टिमले शनिबार दिउँसो अभिनेता श्रेष्ठसँग सम्झौता गर्दै अनुबन्ध गरेको हो। महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शन गरिने भनिएको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्की, सुजना सिना लगायतका कलाकारको पनि अभिनय रहनेछ।

‘खतरनाक गेम’ भनिएको यो फिल्ममा मुकुन्द भट्टको निर्देशन रहनेछ भने फिल्मलाई अस्ट्रेलिया, युरोप र नेपालमा पनि खिचिनेछ। यस्तै फिल्ममा मुकुन्द भट्ट र सुनील निउरेको कथा रहेको छ। यद्यपि फिल्मको पहिलो सिक्वेल ‘लप्पन छप्पन’ले भने दर्शकको खासै साथ पाउन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्