‘प्रेमगीत ३’ मा क्रिस्टिना गुरुङ अनुबन्धित 



काठमाडौं : बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ मा क्रिस्टिना गुरुङ लिड अभिनेत्रीमा अनुबन्धित भएकी छन्। यस चलचित्रमा क्रिस्टिना अब ‘गीत’ को भूमिकामा देखिने छिन्। अमेरिकामा बस्दै आएकी गुरुङ फिल्मको अडिसनका लागि नेपाल आएकी थिइन्। अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन्।

चलचित्र निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए। त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए। उनीहरूमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको निर्माता सन्तोष सेनले बताए।

दर्शकले पनि प्रदीपसँग क्रिस्टिनाको जोडी सुहाउने प्रतिक्रिया दिएका थिए। आइतबार ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले उनको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गर्दैछ। ‘प्लस टु’सम्मको अध्ययन नेपालमा सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी विषयमा स्नातक गर्दैछिन्। परिवारसँग अमेरिकामा बस्दै आएकी उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन्।

चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन्। छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन्। ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ। फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्