चुनावमा कलाकार : केन्द्रमा भिडियो बनाउने, गाउँमा मञ्च तताउने



  • नेमिष गौतम

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तयारी गरिरहँदा आयोगमा दर्ता भएका दलहरू आयोगभन्दा बढी तयारीमा व्यस्त छन्।
विशेषतः यो मामलामा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को दौडदुप बढी छ। कार्यकर्तालाई पार्टी प्रवेश गराउनदेखि आमसभाको काममा पार्टीका शीर्ष नेताहरूको देश दौडाहा बाक्लै छ।

निर्वाचन लागेसँगै कलाकारहरू आबद्ध प्रमुख ३ दलको भ्रातृ सङ्गठनको चुनावी तयारी केही भिन्न छ । उनीहरू गीत, नृत्य तथा सर्ट फिल्म बनाएर मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न दिलो ज्यान दिएर लागेका छन् । नेपाली कांग्रेस ‘घरघर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान लिएर स्थानीय निर्वाचनमा होमिइसकेको छ। यही नारालाई आत्मसात् गर्दै कलाकारहरू चुनावी माहोल बनाउन जुटिसकेका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा आफूहरूले सबै विधाका कलाकारहरूलाई समेटेर अगाडि बढेको बताउँछन् । ‘हामी चुनावी गीतसँगै प्रचारप्रसारका विभिन्न सन्देशहरू बनाइरहेका छौँ । कतिपय गीतहरूको रेकर्डिङदेखि भिज्युअलको काम पूरा भइसकेको छ । कतिपय भने लेखिने र निर्माण हुने क्रममा छन्’, थापा भन्छन्, ‘हामीले प्रत्येक पालिकामा पालिका समिति गठन गरिरहेका छौँ ।

पालिकामा बनाएका समितिले स्थानीय रूपमा कलाकारहरू परिचालन गर्ने र जिल्ला कार्यसमितिले प्रत्येक वडामा कलाकारहरूलाई पुर्‍याउने योजना बनाएको उनको भनाइ छ । अध्यक्ष थापाले अघिल्ला निर्वाचनभन्दा यस पटकको निर्वाचन आफूहरूलाई अवसर र चुनौती दुवै रहेको बताए । ‘पहिला टिम हुन्थ्यो, को कहाँ पुग्थे भन्ने थाहा हुँदैन थियो । एउटै गीतलाई सबै ठाउँमा पुर्‍याइन्थ्यो’, थापाले प्रष्ट्याए, ‘अहिले प्रादेशिक रूपमा पनि जाऔँ भन्ने साथीहरूको सुझाव आएकाले प्रदेश हिसाबले हामी अगाडि बढिरहेका छौँ किनकि जिल्लामा त यसअघि नै टोली छँदै छ । प्रादेशिक अवधारणाअन्तर्गत साथीहरू पालिकास्तरबाट प्रत्येक घरघर पुग्दै हुनुहुन्छ ।’ संघका महासचिव शिवशंकर रिजाल ‘जोगिन्दर’ अध्यक्ष थापाको भनाइमा सहमत छन् । उनका अनुसार संघले कांग्रेसको अभियानअन्तर्गत एउटा गीत तयार पारेर सामाजिक सञ्जालमा राखिसकेको छ ।

कांग्रेसका लागि शिवशंकरसहित राधिका हमाल, विमलराज क्षेत्री, सुनील थापालगायतले गीत रेकर्ड गराइसकेका छन्। ‘पार्टी महामन्त्री विश्वप्रकाश शर्माको शब्द र नेपाल सांस्कृतिक संघको प्रस्तुतिमा एउटा गीत पनि तयार गरिसक्यौँ । विभिन्न गायक, गायिकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गीतहरू निकाल्ने क्रम जारी छ’, रिजाल भन्छन्, ‘हामी सम्पूर्ण कलाकारलाई उपत्यकाबाहिर परिचालन गर्ने तयारीमा छौँ । पूर्व, पश्चिम, उत्तर र दक्षिणको मोर्चा बनाएर ७५३ वटै स्थानीय तहमा परिचालन गर्दै छौँ ।’ रिजालले यस पटकका गीतहरू मर्यादित हुने दाबी गरे । नेकपा एमालेको भ्रातृसंस्था जनपक्षीय चलचित्रकर्मी संघका संयोजक दिनेश डीसी आफूहरू आन्तरिक रूपमा तयारी अवस्थामा रहेको बताउँछन् ।

संघमा आबद्ध कलाकारहरूले कहाँ, केके गर्ने भन्ने तयारी भइसकेको उनको दाबी छ। ‘कलाकारहरू तयारी अवस्थामा हुनुहुन्छ। गीत, सङ्गीत र फिल्म क्षेत्रमा आबद्ध कलाकारहरू ‘स्ट्याण्डबाई’ छौँ । पार्टीका कार्यक्रमका लागि हामीले कलाकार तयारी अवस्थामा नै राखेका हुन्छौँ’, दिनेश भन्छन्, ‘निर्वाचनका लागि बनाइएका गीत पहिलेका नै छँदै छन्। जहाँजहाँ आमसभा र  र्‍याली हुन्छ, ती ठाउँहरूमा हाम्रो प्रस्तुति दिने हो ।’ दिनेशले आमसभामा नेताहरूले आफ्नो विचार राख्नुअघि वा केहीले विचार राखिसकेपछि बीचमा कलाकारको प्रस्तुति हुने खुलाए।

‘सभामा आएका मानिसहरूलाई त्यहाँ निरन्तर उपस्थित गराइरहन र उनीहरूलाई मनोरञ्जन दिलाउन गीत, नृत्य र प्रहसन देखाउनेछौँ किनभने सधैँ भाषणले मात्र जनताको ध्यान तान्न सक्ने वातावरण छैन । सबै कुरा तयारी अवस्थामा छ, पार्टीले गरौँ भनेपछि हामी सुरु गहिरहाल्छौँ ।’ दिनेशले आगामी १८ देखि २० चैतसम्म जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलन हुने भएकाले सम्मेलनपछि चुनावी प्रचारको खाकालाई कार्यान्वयनमा लैजाने बताए । एमालेका लागि अशोककुमार राई, मधु गुरुङलगायतका गायक, गायिकाले गीत रेकर्ड गराएका छन्। पार्टीको पक्षमा माहोल बनाउन नेकपा (माओवादी केन्द्र)का २ भ्रातृसंस्था अखिल नेपाल चलचित्रकर्मी संघ र अखिल नेपाल जनसांस्कृतिक महासंघले पनि काम सुरु गरिसकेका छन् । संघका अध्यक्ष उदय सुब्बा निर्वाचनको प्रचारका लागि आफूहरू सर्ट फिल्म बनाउन लागिपरेको बताउँछन् । ‘यही १०–१२ गतेदेखि सुटिङमा जाँदै छौँ ।

हाम्रो आफ्नोआफ्नो विभाग छ, विभागअनुसार कलाकारहरूले काम गरिरहनुभएको छ’, सुब्बा भन्छन्, ‘पहिला एकीकृत रूपमै काम हुन्थ्यो तर यस पटक विधागत रूपमा कलाकारलाई चुनावी प्रचारको मोर्चामा लैजाँदै छौँ ।’ महासंघका उपाध्यक्ष तथा सङ्गीतकार, गायक चेतन सापकोटा आफूहरू मानसिक रूपमा तयारी अवस्थामा रहेकाले पार्टीको निर्देशन आएमा एक सातामा सबै तयारी पूरा गर्ने दाबी गर्छन् । गीत र टिकटक सामग्री प्रभावकारी हुने देखिएकाले आफूहरू त्यसमै केन्द्रित हुने उनको भनाइ छ।

‘देशमा गणतन्त्र ल्याउनका लागि माओवादीले दिएको योगदान, समानुपातिक, समावेशी हुँदै समाजवादको बाटोमा जान माओवादीको यात्रा अथवा समाजवादमा माओवादीको यात्रा विषयलाई केन्द्रमा राख्दै चुनावी प्रचार सामग्री बनाउँदै छौँ’, चेतन भन्छन्, ‘प्रतिगमनकारीहरूले २/२ पटक संसद् विघटन गरिदिए । एमालेले राम्ररी संसद् चल्न दिएको छैन । त्यस कारण संसद्लाई नै नमान्ने एमालेलाई किन भोट दिनुहुँदैन भन्ने सन्देशसहितका गीत रेकर्ड गराउने योजनामा छौँ ।’

प्रतिक्रिया दिनुहोस्