उद्योगमा २ खर्ब ३३ अर्ब लगानी, उत्पादनमूलक उद्योग क्षेत्रमा आर्कषण बढ्दो



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा उद्योगमा २ खर्ब ३३ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ । उद्योग विभागबाट चालु आर्थिक वर्षको साउनदेखि २ चैतसम्ममा स्वदेशी तथा विदेशी गरी सो लगानी प्रतिबद्धता स्वीकृत भएको हो।

स्वदेशी तथा विदेशी गरी २०२ वटा उद्योग दर्ता भएकोमा २ खर्ब ३३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ। विभागका अनुसार गतवर्ष सोही अवधिमा ६० वटा मात्र उद्योग दर्ता भएका थिए भने ३३ अर्ब ५० करोड रुपैयाँको लगानी प्रतिबद्धता स्वीकृत भएको थियो । गतवर्ष कोरोनाका कारण उद्योग क्षेत्रमा लगानी कम भएको विभागले जनाएको छ । कोरोनाका कारण उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी दुवैतर्फ लगानी कम भएको विभागले जनाकारी दिएको छ । विभागका अनुसार पछिल्लो समय उद्योगी व्यवसायीहरु उत्पादनमूलक उद्योग क्षेत्रमा बढी आर्कषण भएका छन् ।

चालु आर्थिक वर्ष साउन देखि २ चैतसम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका २०२ वटा उद्योग दर्ता भएकोमा उत्पादनमूलकका मात्र ७९ वटा उद्योग दर्ता भएको छन् । गतवर्ष सोही अवधिमा विभागमा ६० वटा उद्योग दर्ता भएकोमा उत्पादनमूलक उद्योग २४ वटा दर्ता भएका थिए । विभागको तथ्यांकअनुसार गतवर्षको तुलनामा उत्पादनमूलक उद्योग ५५ वटा बढी दर्ता भएका छन् । विभागमा दर्ता भएका ७९ वटा उत्पादनमूलक उद्योग सञ्चालनका लागि ४८ अर्ब १७ करोड २ लाख २८ हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । गतवर्ष सोही अवधिमा २४ वटा उत्पादनमूलक उद्योग दर्ता भई ५ अर्ब ४८ करोड २ लाख ४२ हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो । विभागको तथ्यांक साउनदेखि २ चैतसम्ममा पर्यटन क्षेत्रमा ३५ वटा उद्योग दर्ता भएका छन् भने १९ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।

गतवर्ष सोही अवधिमा पर्यटन क्षेत्रमा १३ वटा उद्योग दर्ता भएका थिए भने ७ अर्ब ४० लाख रुपैयाँ लागनी प्रतिबद्धता स्वीकृत भएको थियो। गतवर्षको तुलनामा पर्यटन क्षेत्रमा ३३ अर्ब बढी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यसैगरी विभागमा जम्मा २०२ वटा उद्योग दर्ता भएकोमा सेवामूलक क्षेत्रमा ३६ वटा उद्योग दर्ता भएका छन् भने ४० अर्ब ४६ करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ। सोही अवधिमा गतवर्ष सेवामूलक क्षेत्रमा ६ वटा उद्योग दर्ता भएका थिए भने १ अर्ब ७८ करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको थियो । विभागका अनुसार चालु आर्थिक वर्ष साउनदेखि २ चैतसम्ममा पूर्वाधार क्षेत्रका २ वटा उद्योग दर्ता भएका छन् भने ६ करोड ९८ लाख रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ। सोही अवधिमा गतवर्ष पूर्वाधार क्षेत्रमा १ वटा उद्योग दर्ता भएको थियो भने १ करोड ६३ लाख रुपैयाँ प्रतिबद्धता स्वीकृत भएको थियो।

त्यस्तै कृषि तथा वन पैदावारमा क्षेत्रमा १४ वटा उद्योग दर्ता भएका छन भने ३ अर्ब ७ करोड रुपैयाँ, ऊर्जामूलक क्षेत्रमा ३० वटा उद्योग दर्ता भएकामा ११ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ। विभागमा अनुसार चालु आर्थिक वर्षको साउनदेखि २ चैतसम्मा सूचना प्रविधिमा आधारित ६ वटा उद्योग दर्ता भएका छन् भने १ अर्ब ४० करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ । गतवर्ष सोही सूचना प्रविधिमा आधारित १ वटा उद्योग दर्ता भएको थियो भने १ अर्ब ५० करोड लगानी स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्