मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका लागि २१५ दल दर्ता



जनकपुरधाम । मधेस प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ६ वटा राष्ट्रिय दलबाहेकका २१५ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि जिल्लाहरूमा दल दर्ता गराउनुपर्ने समयसीमा ६ चैतसम्मका लागि निर्धारण गरेकोमा सो अवधिमा यस प्रदेशका जिल्ला निर्वाचन कार्यालयहरूमा २१५ वटा दल दर्ता भएका हुन् ।

सबैभन्दा बढी रौतहटमा ३० र सबैभन्दा कम महोत्तरीमा २० वटा दल दर्ता भएका छन् । त्यस्तै, सर्लाहीमा २९, बारामा २९ र सप्तरीमा २८ वटा दल दर्ता भएका छन् भने पर्सामा २७, धनुषामा २६ र सिरहामा २६ वटा दल दर्ता गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण चन्द्र राउतले दर्ता भएका दलले आफ्नै चुनाव चिन्ह पाउने बताएका छन् । उनले भने, ‘मतपत्र छाप्न र निर्वाचन प्रक्रिया सजिलो होस भन्ने उद्देश्यले जिल्ला जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’ 

निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । १३ चैतमा आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।मतदाता शिक्षाको कार्यक्रम पनि सुरु हुन बाँकी रहेको उनले बताए । सूचना अधिकारी राउतका अनुसार जिल्लाहरूमा नमूना मतदान कार्यक्रम पनि हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्