माग्ने बुढाकाे प्रश्न – श्रीमतीलाई म्याक्सी छैन, छिमेकीलाई ट्याक्सी ?



काठमाडौं : भारतको प्रतिष्ठित आइफा अवार्डको २० औँ संस्करण नेपालमा आयोजना गर्ने र त्यसका लागि सरकारले आर्थिक सहायता दिने निर्णय गरेको भन्दै कलाकारहरूले गुनासो गरेका छन्। हाँस्यकलाकार किरण केसीको जन्मउत्सव मनाउन पुगेका कलाकारहरूले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन्।

नेपालमा यस्तो अवार्डको आयोजना हुनु राम्रै भए पनि सरकारले आर्थिक सहायता दिने निर्णय गर्नु आलोच्य विषय भएको कलाकारहरूको प्रतिक्रिया छ। हास्य कलाकार केदार घिमिरेले सरकार नै आयोजक बन्ने र सरकारले नै पैसा लगानी गर्ने कुरामा आपत्ति जनाए।

उनले भने, ‘ मैले बुझेअनुसार दुबईमा यो अवार्ड आयोजना हुँदा उल्टै अवार्ड आयोजकले दुबई सरकारलाई पैसा दिएका थिए। अवार्ड आयोजना गर्दा त्यहाँका होटलहरुले राम्रो रकम कमाएका थिए। यहाँ त हामीले उल्टै पैसा दिन लागेका छौँ। हाम्रो देश सार्वभौमसत्ता हो। यो देशमा तुइन हटेको छैन, विद्यार्थीले किताब पाएका छैनन्। आफ्नो घरको श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो यो त।’

कलाकार घिमिरेले थपे, 'नेपाली कलाकारको अवस्था के छ, खै सरकारले बुझेको छ। मर्दा सेतो कपडा किन्ने पैसा हुँदैन। किड्नी फेल हुँदा पुतलीसडकमा तन्ना बिछ्याएर पैसा उठाउनुपर्ने बाध्यता छ। नेपाली कलाकारलाई सुविधा केही नदिने, अनि फेरि दाँज्न भने विदेशी कलाकार जस्तो किन भइनस् भनेर दाँज्ने? आफ्नै देशका कलाकारलाई खै वास्ता गरेको?'

नायक भुवन केसीले एउटा विदेशी अवार्डका लागि यति ठुलो रकम खर्च गर्नु गलत भएको प्रतिक्रिया दिए। नायिका करिश्मा मानन्धरले आफ्नै देशको चलचित्रलाई प्रोत्साहन गर्न नसकेको अवस्थामा, समृद्ध रहेको चलचित्र क्षेत्रलाई बोलाएर खर्च गर्नु असान्दर्भिक भएको बताइन्।

कलाकार जितु नेपालले किड्नी बेचेर भात खानु परेको अवस्था हुँदाहुँदै  विदेशी अवार्डलाई यत्रो रकम दिन खोज्नु अशाेभनीय भएको बताए।

प्रतिक्रिया दिनुहोस्