निर्यातमा सुधार, ८ महिनामा ८२ प्रतिशत वृद्धि



काठमाडौं । चालू आर्थिक वर्षमा निर्यात केही सुधार उन्मुख देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्याङ्कअनुसार निर्यातमा सुधार देखिएको हो । विभागको ८ महिनाको तथ्याङ्कअनुसार ८२ दशमलब ९० प्रतिशत वृद्धि भएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा निर्यात ८२ दशमलब ९० प्रतिशत वृद्धि भएको हो ।
भन्सार विभागको चालू आर्थिक वर्षको ८ महिनाको तथ्याङ्कअनुसार १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँका विभिन्न वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको थियो ।
पाम आयल र सनफ्लावर आयलको निर्यातमा वृद्धि भएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्कले बताए । उनले पाम आयल र सनफ्लावर आयलको निर्यातमा वृद्धि हुँदा व्यापार घाटामा केही सुधार देखिएको बताए ।
गत वर्ष भारतले पाम आयल निर्यातमा प्रतिबन्ध लगाउँदा पाम आयल निर्यात भएको थिएन । उनले भने, ‘यस पटक पाम आयल निर्यातमा केही समस्या नभएको हुँदा निर्यात सुधार देखिएको हो । अहिले निर्यातमा सुधार आएको देखिए पनि दिगो अर्थतन्त्रका लागि यसले खासै फाइदा हुँदैन । देशको अर्थतन्त्र बालियो बनाउनका स्वदेशी उत्पादन नै निर्यात हुनुपर्छ । बाहिरबाट कच्चा पदार्थ आयात गरी निर्यातमा वृद्धि भएपनि निर्यात हुने देशले सो वस्तुमा प्रतिबन्ध लगाउँदा स्वदेशी उद्योगीसँगै देशको अर्थतन्त्रमा समेत असर पर्छ ।’
अर्थतन्त्रमा सुधार ल्याउन स्वदेशमै उत्पादन वृद्धि गरी निर्यात बढाउनुपर्ने निर्देशक खड्का बताउँछन् ।
विभागको तथ्याङ्कअनुसार १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको वस्तु निर्यातमा पाम आयल ३५ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै, ८ महिनामा सनफ्लावर आयल ३६ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
स्वदेशी उद्योगीले ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको कच्चा पाम आयल आयात गरी सो वस्तुलाई प्रशोधन गरी स्वदेशी व्यापारीले ३५ अर्ब ३३ करोड रुपैयाँको निर्यात गरेका हुन् । स्वदेशी व्यापारीले पाम आयल आयात गरी प्रशोधन गरी निर्यात गर्दा चालू आर्थिक वर्षको ८ महिनामा २ अर्ब ९९ करोड रुपैयाँ आर्जन गरेका छन् ।
यसैगरी स्वदेशी उद्योगी–व्यवसायीले ८ महिनामा १५ अर्ब ९० करोड रुपैयाँ बराबरको सनफ्लावर आयलको कच्चा वस्तु आयात सो वस्तुलाई प्रशोधान गरी ३६ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्यात गर्दा १२ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार वनस्पति तेल तथा घीउको ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
विभागको तथ्याङ्कअनुसार ८ महिनासम्ममा १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालू आवमा गत वर्षको तुलनामा ३८ दशमलब ६४ प्रतिशत बढी आयात भएको हो । ८ महिनासम्ममा कुल वैदेशिक व्यापारको आकार भने १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।
यसमा नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ छ । व्यापार घाटा गत वर्षको तुलनामा ४२ दशमलब १३ प्रतिशत वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ थियो ।
भन्सार विभागको तथ्याङ्कअनुसार ८ महिनामा पेट्रोलियम पदार्थ २ खर्ब १७ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ । यसैगरी २६ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ ।
विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ८ महिनामा भारतबाट भने ७ खर्ब ९७ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालबाट भारतमा १ खर्ब १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालको भारतसँगको व्यापार घाटा ६ खर्ब ७८ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । यसैगरी चीनबाट १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालले भने ५४ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्