राजर्षि जनक कप : एनआरटीविरुद्ध संघर्ष पूर्ण जित निकाल्दै बागमती सेमिफाइनलमा प्रवेश



सर्लाही । सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तरगत सम्पन्न खेलमा आयोजक बागमती युवा क्लबले संघर्ष पूर्ण जित निकालेको छ ।
मंगलबारको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरको संघर्ष पूर्ण जित निकाल्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न खेलमा बागमतीका लागि खेलको ८६औँ मिनेटमा जोमोल एन्थोनीले निर्णायक गोल गरे ।
बागमतीका एन्थोनीले एनआरटीका गोल रक्षक पूजन हुवासगँ वान टु वानको अवस्थामा पुगेका थिए । सोही अवसरलाई सदुपयोग गर्दै एन्थोनी गोलरक्षकलाई विट गर्दै गोल गर्न सफल भए ।
आजको खेल दुवैतर्फबाट निकै प्रतिस्पर्धात्मक बनेको थियो । लयमा रहेर दुवै टोलीले खेलमा केही राम्रा अवसर तयार गरे । तर, पाएको केही अवसरमा दुवै तर्फबाट सशक्त प्रहार गर्न सकेनन् ।
आयोजक बागमती र न्युरोड टिमबीचको आजको भेट यस सिजनको दोस्रो भेट हो । यस पहिला दुई टोली धनगढीमा सम्पन्न खप्तड गोल्डकपमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा पनि न्युरोड टिम बागमतीसगँ पराजित भएको थियो ।
यस अर्थमा पनि आज दुवै टोली खेल जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएका थिए । एनआरटी आजको खेल जित्दै धनगढीमा भएको हारको बदला लिने तयारीमा थियो । भने, बागमती घरेलु मैदानमा उच्च मनोबलका साथ जित दोहोर्‍याउने दाउमा थियो । खेलको अन्तिम केही मिनेट आक्रामक बनेको बागमतीले अन्ततः तयारी अनुसार नै नतिजा आफ्नो पक्षमा पार्दै जित दोहोर्‍यायो ।
खेल अवधि भर एनआरटी आयोजक बागमती माथि दबाब बनाउने ठुलै संघर्षमा देखियो । तर, सफल हुन सकेन । खेलमा एनआरटीका ‘मीड फिल्ड’का खेलाडीहरूको फिनिसिङ नहुँदा टिमले स्कोर गर्नबाट चुक्यो । फलस्वरूप परिणाम बागमतीको पोल्टामा पर्‍यो ।
खेल अवधि केही तनावको अवस्थामा देखिएका बागमतीका प्रशिक्षक रोजित केसीलाई स रेफ्रि प्रज्वल क्षेत्रीले पहेँलो कार्ड देखाउँदै सचेत गराए । यस्तै बागमतीका लागि निर्णायक गोल गरेका जोमोल एन्थोनी म्यान अफ दि म्याच घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गर्न सफल भए । जितसँगै बागमती युवा क्लबले चैत १० गते हुने सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लबसगँको भेट पक्का गरेको छ ।
यस पहिला (केविए) ग्लोबल (बिएफसी) चितवनलाई पराजित गर्दै एनआरटीले आयोजक बागमतीसगँ प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा भेट पक्का गरेको थियो । एक खेल बाई पाएको आयोजक बागमती भने सिधै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यसैबीच यस प्रतियोगिता अन्तरगत हुने बुधवारको अन्तिम क्वाटरफाइनल खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्