नेपाल र थाइल्याण्ड बिहीबार मैत्रीपूर्ण फुटबल खेल्दै



काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ । थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।
यता, थाइल्यान्ड भने समूह सी मा छ । उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ ।
हाल थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ । मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् । मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जनभन्दा बढी खेलाडी थाइल्यान्ड भ्रमण बाहिर रहेका हुन् । स्ट्राइकर विमल घर्ती मगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाल लगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।
उनीहरुको अनुपस्थितिमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् । । नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् । मूख्य प्रशिक्षक अब्दुल्लाहले थाइल्यान्ड प्रस्थान गर्नुअघि युवा टिमबाट सकारात्मक नतिजाको आशा गरेको र सोहीअनुसार रणनीति बनाएर खेल्ने बताएका छन् । यससँगै अब्दुल्लाहले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन् । थाइल्यान्डपछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ चैतमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्