राेहितकाे शतकले उकासियाे भारत



इंग्यान्ड र वेल्समा जारी १२ औं एकदिवसीय विश्वकपमा भारतका रोहित शर्माले आफ्नाे चौथो शतक पूरा गरेका छन्। उनले मंगलबार बंगलादेशविरुद्धको खेलमा शतक हानेका हुन्। उनकाे याे शतक एउटै विश्वकपमा दोस्रो तथा भारतको पहिलो खेलाडीकाे सूचीमा परेकाे छ। 

उनले यसअघि दक्षिण अफ्रिका, पाकिस्तान र इंग्ल्याण्डविरुद्ध शतक हानेका थिए। यसअघि सन् २०१५ को एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाका कुमारा सांघाकाराले चार शतक प्रहार गरेका थिए।

उनले साैम्य सरकारकाे बलमा लिटन दासबाट क्याच आउट हुनुअघि ९२ बलमा एक सय चार रन बनाएका हुन्। राेहितले यसका लागि पाँच छक्का र चार चाैककाे याेगदान गरे। टस हारेर ब्याटिङमा उत्रिएकाे भारतले याे समाचार तयार पार्दासम्म ३९.४ ओभरमा चार विकेटकाे क्षतिमा २ सय ४५ रन बनाएकाे छ।

उसका लागि ओपनर के एल राहुलले ९२ बलमा ७७ रन बनाएका छन्। त्यसैगरी कप्तान विराट काेहलीले २७ बलमा मात्र २६ रन बनाएका छन्। 

२ बल खेलेका हार्दिक पाण्डयाले खाता नै खाेल्न सकेनन्। क्रिजमा अहिले रिसव पन्त र पूर्वकप्तान महेन्द्रसिंह धाेनी छन्। बंगलादेशका लागि मुस्तफिजुर रहमानले एक मेडन राखी २ विकेट लिएका छन्। त्यसैगरी रुबेल हुसेन र साैम्य सरकारले समान एक विकेट लिएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्