रोहितको शतकमा बंगलादेशलाई फराकिलो लक्ष्य



काठमाडौं : ओपनर रोहित शर्माले शतक प्रहार गरेपछि इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई ३ सय १५ रनको फराकिलो लक्ष्य दिएको छ। बर्मिङ्घममा टस जितेर ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय १४ रन बनायो।

भारतका लागि रोहितले सर्वाधिक १०४ रनको योगदान दिए। ३० ओभरको दोस्रो बलमा सौम्य सरकारको बलमा लिटन दासबाट क्याच हुनुअघि रोहितले ९२ बलमा ७ चौंका र ५ छक्का प्रहार गरे। जारी विश्वकपमा रोहितको यो चौंथो शतक हो। उनले यसअघि दक्षिण अफ्रिका, पाकिस्तान र इङ्ल्याण्डविरुद्ध शतक हानेका थिए। त्यस्तै रोहितको वान डे करियरको भने यो २६ औं शतक हो।

पहिलो विकेटका लागि ओपनर रोहित र लोकेश राहुलले १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए। ३३.४ ओभरमा क्याच आउट हुनुअघि राहुलले ९२ बलमा ६ चौका र १ छक्कासहित ७७ रनको योगदान दिए। २ रनले अर्धशतक प्रहार गर्नबाट चुकेका ऋषब पन्तले ४१ बलमा ६ चौंका र १ छक्कासहित ४८ रन जोडे।

त्यस्तै महेन्द्रसिंह धोनीले ३३ बलमा ४ चौंकासहित ३५ र कप्तान विराट कोहलीले २७ बलमा ३ चौकासहित २६ रनको योगदान दिए। दिनेश कार्तिक ८, भुवनेश्वर कुमार २ र मोहम्मद सामी १ रनमा आउट भए। हार्दिक पाण्ड्या शून्य रनमा पवेलियन फर्किदा जसप्रित बुमराह शून्य रनमा नटआउट रहे।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडनसहित ५९ रन खर्चेर ५ विकेट लिए। त्यस्तै सकिब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान १–१ विकेट रह्यो।

बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ। भारतले ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ। एक खेल बर्षाले रद्व हुँदा अन्य खेलमा भारत जित निकाल्न सफल भएको थियो। भारतले ७ खेलबाट ११ अंक बटुलेको छ।

यता बंगलादेश भने इतिहासमै पहिलोपल्ट एकदिवशीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन लिग चरणका दुवै खेल जित्न प्रयासरत छ। त्यसैले आजको खेलमा भारतलाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जिवितै राख्न बंगलादेश मैदानमा उत्रनेछ।

सेमिफाइनलमा पुग्न बंगलादेशले दुवै खेल जितेर मात्र हुँदैन न्यूजिल्याण्डले पनि लिग चरणको आफ्नो अन्तिम खेलमा इङ्ल्याण्डलाई हराउनुपर्नेछ। बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्