आठौँ राष्ट्रिय खेलकुद सर्‍यो, १३ औँ साग पनि प्रभावित हुने



काठमाडौं : पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता दुई महिनापछि सारिएको छ । यही मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।  

 

अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । 

 

“समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ, दुई महिना पर सार्दैमा केही फरक पर्दैन,” सदस्यसचिव विष्टले भने । 

 

राष्ट्रिय खेलकुदका लागि सबै तयारी युद्धस्तरमा भइरहेको बताउँदै उनले प्रतियोगिता नयाँ तोकिएको मितिमै हुने जानकारी दिए ।  

 

सदस्यसचिव विष्टले भने, “मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौँ, तर राष्ट्रिय खेलकुद चाहिँ कन्फर्म तोकिएकै मितिमा हुन्छ, सरकारले यसका लागि आवश्यक बजेट दिने ग्यारेन्टी पनि गरिसकेको छ ।” 

 

उनले आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) पनि छ महिना सार्ने प्रस्ताव गरेको जानकारी दिए । साग आगामी सेप्टेम्बर महिनामा हुने उनले जानकारी दिएका छन् ।  

 

साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ । “ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले सागपछि सार्ने प्रस्ताव गरेका छौँ, यसबारे छिट्टै निर्णय हुन्छ”, उनले भने । 

 

भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठुला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ । 

 

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणलाई रु ३३ करोड बजेट निकासा भइसकेको छ । यसै गरी आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि उनले बताए । दुई वर्षअघि सातौँ राष्ट्रिय खेलकुद गर्न अर्थ मन्त्रालयले रु ३३ करोड बजेट उपलब्ध गराएको थियो । 

 

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता अरुण प्रसाद न्यौपानेले पूर्वाधार निर्माणकै कारण प्रतियोगिता दुई महिना पर सारिएको स्पष्ट पारे ।  

 

पूर्वाधारको सम्पूर्ण निर्माण कार्य माघ दोस्रो सातासम्म सक्ने गरी ठेकेदारलाई भनिसकिएको र आवश्यक बजेट पनि सरकारका तर्फबाट उपलब्ध गराइसकिएको उनको भनाइ छ । 

 

सङ्घीय संरचनाअनुसार प्रतियोगिता 

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चलन थियो । तर देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ । 

 

आर्थिक र अन्य कारणले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकुद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउन गैरआवासीय टोलीको सहभागिता खोजिएको राखेपको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्