प्रदेश ३ मा वैशाखसम्म १५ वटा विद्युतीय बस चलाइने



  

काठमाडौं :   प्रदेश नं. ३ मा आउने  वैशाखसम्म १५ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ।

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित लगायतको संयुक्त बैठकमा विद्युतीय सवारीसाधन सञ्चालनका सम्बन्धमा छलफल भएको हो। वैशाखसम्म ३० करोड लगानी गरी १५ वटा बस सञ्चालन गरिने भएको छ। एउटा विद्युतीय बसको लागत करिब २ करोड पर्नेछ। प्रदेश ३ मा विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन प्रक्रियालाई तीव्रता पारिँदै लगिने मुख्यमन्त्री पौडेलले बताए।

 

‘वैशाखमा १५ वटा विद्युतीय बस ल्याई काठमाडौंबाट चढेर हेटौंडासम्म जान्छौं,’ उनले भने। उनका अनुसार प्रदेशकै नाममा ती बसहरू सञ्चालन हुनेछन्। अबको वि।सं। २०८५ सम्ममा इन्धनबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विस्थापन गर्ने लक्ष्यसहित संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ।

 

सहरमा धेरै मानिस अटाउनेगरी ठूला बसहरू आवश्यक भएको बताउँदै मेयर शाक्यले अब विद्युतीय बसहरूलाई नै प्राथमिकता दिइने बताए। सार्वजनिक निजी साझेदारीमा विद्युतीय बसहरू सञ्चालन गर्नेगरी महानगर अघि बढ्ने उनको भनाइ छ।

 

यसअघि पहिलो पटक नेपालमा पाँच वटा विद्युतीय बस ल्याइएको छ। पर्यटकीय क्षेत्र लुम्बिनीको आर्थिक विकासका लागि भन्दै एडिबीको सहयोगमा ती बस ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्