पुलिसले सोधपुछका क्रममा सर्प अपराधीको घाँटीमा बेरिदिएपछि… (भिडियो सहित)



काठमाडाैं : हामीले सुन्ने गरेका छौं, पुलिसले अपराधीबाट वास्तविकता ओकल्न चरम यातना दिने गर्छ। तर, यहाँ एउटा यस्तो भिडियो भाइरल भएको थियाे, जसले यातनाको सबै हद पार गरेको छ। इन्डोनेशियाको पपुवाअस्थित जायाविजाया जिल्लाका पुलिसले एक कथित चोरको घाँटीमा दुई मिटर लामो सर्प बेरेर सोधपुछ गरेका छन्।

इन्डोनेशियाका मानव अधिकारकर्मीले वेस्टर्न न्यू गिनीमा सोधपुछका लागि सर्प प्रयोग गरेको घटनाको घोर विरोध गरेपछि पुलिसले माफी समेत मागेका थिए। याे भिडियोमा नाङ्गो खुट्टा भएका, हात बाँधेका व्यक्तिलाई एक पुलिस अधिकारीले जिउँदो सर्प मुखमा तेर्साउँदै प्रश्न सोधिरहेको देख्न सकिन्छ।

उक्त पुलिसले सर्प उनको मुखभित्र र पाइन्ट भित्र हालिदिने चेतावनी पनि दिइरहेका छन्। पछि, उक्त सर्प कथित मोबाइल चोरको घाँटीमा पनि बेरिदिदै भन्छन् ‘तैंले कति पटक मोबाइल चोरेको छस् ?’ कथित चोरमाथि ती पुलिसले चिच्याएर सोधिरहेका छन्। यसको जवाफमा आत्तिएका ती व्यक्तिले भन्छन्, ‘दुई पटक मात्र।’

स्थानीय पुलिस प्रमुख टोनी आनन्द स्वादयले यसबारे वक्तत्व जारी गर्दै सोधपुछमा सर्पको प्रयोग गरेकोमा माफी मागेका छन्। उनले मिडियाले उक्त घटनालाई अतिरञ्जित गरेको पनि आरोप लगाए। उनले सर्प विषालु नभएको र आरोपी खतरामा नभएको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्