राष्ट्रपतिमाथि आक्रमण गर्ने योजना बनाएका ६ जना पक्राउ



काठमाडौं : फ्रान्सको प्रहरीले राष्ट्रपति इम्यानुएल म्याक्रोनमाथि आक्रमणको योजना बनाएका ६ जनालाई पक्राउ गरेको छ । फ्रान्सको पूर्वीय क्षेत्र मोसेले र इसेरे तथा उत्तर पश्चिम क्षेत्रबाट ६ जना व्यक्तिलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ । तर पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । 

प्रहरीले गोप्य सूचनाको आधारमा केही व्यक्तिले राष्ट्रपति म्याक्रोनमाथि आक्रमण गर्ने योजना बनाइरहेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

अधिकारीहरुले त्यो समूहले किन राष्ट्रपतिमाथि आक्रमण गर्ने योजना बनाएको हो भन्ने अनुसन्धान भैरहेको बताएका छन् । सन् २०१७ को जुलाईमा २३ वर्षका एकजनाले राष्ट्रपति माक्रोनको हत्या गर्ने योजना बनाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सैनिक परेडमा सहभागी भएको बेला राष्ट्रपति म्याक्रोनको हत्या गर्ने योजना बनाएको आरोपमा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले प्रहरीलाई आफूले म्याक्रोनलाई सैनिक परेडको बेला हत्या गर्ने योजना बनाएको बयान दिएका थियो । प्रहरीले ती व्यक्तिको साथबाट तीनवटा चक्कू बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्