नेपालले उपाधिका लागि हङकङसँग खेल्ने



काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो। फाइनल मंगलबार किनरारा ओभल क्रिकेट मैदानमा हुनेछ।

पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगिसकेको छ। वर्षाले प्रभावित खेलमा हङकङले दिएको २४८ रनको लक्ष्यसहित सिंगापुरले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो।

वर्षाले खेल रोकिनु अघि सिंगापुरले २८.३ ओभरमा ५ विकेट गुमाएर ९७ रन जोडेको थियो। त्यसपछि खेल सुचारु भएन र डिएलमा हङकङ विजयी भयो। यसअघि पहिले ब्याटिङ गरेको हङकङले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो।

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ। यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्