नेपालले जित्याे इस्टर्न रिजन क्रिकेट प्रतियाेगिताकाे उपाधि



काठमाडाै‌ : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ। नेपालले हङकङलाई ६ विकेटले पाखा लगाएकाे हाे।  हङकङलाई हराएसँगै नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले ४३ दशमलव १ ओभरमा अल आउट हुँदै ९५ रनमै समेटिएको थियो।  ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भए। 

अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे। उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे। लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए। कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे। हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट हात पारे।

त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउनुबाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए। कमलसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए। तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो। कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे।

प्रतिक्रिया दिनुहोस्