एकदिवसीय विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा मंगलबार (आज) भारत र साविक उपविजेता न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। म्यान्चेस्टरमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ।

शीर्ष स्थानको भारतले चौथौ स्थानको न्युजिल्याण्डसँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो। आयोजक इङ्ल्याण्डसँग मात्र पराजित भारत उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। लिग चरणमा भारतले खेलका ९ खेलमध्ये ७ मा जित, १ मा हार र १ मा अंक बाँड्दै १५ अंक बनाएको छ।

लिग चरणमा न्युजिल्याण्ड र भारतबीचको खेल भने भएन। पानी परेर खेल रद्द भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका थिए। न्युजिल्याण्ड भने लिग चरणमा चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको हो। न्युजिल्याण्डले खेलका ९ खेलमध्ये ५ मा जित, ३ मा हार र १ मा बराबरी खेल्दै ११ अंक बनाएको छ। विश्वकप इतिहासमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन्।

भारत जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाएका रोहित शर्माको लयलाई लिएर बढी आत्मविश्वासी छ। विश्वप्रख्यात भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमाननजिक पुगेका रोहितको प्रदर्शन यस विश्वकपमा निकै नै उत्कृष्ट छ। जारी विश्वकपमा उनले पाँच शतक प्रहार गर्दा ६ सय ४७ रन पूरा गरेका छन्। सचिनले ६ सय ७३ रनको कीर्तिमान बनाएका छन्। उनले २७ रन जोड्न सके तेन्दुलकरको कीर्तिमान भंग गर्नेछन्।

रोहितका अलावा कप्तान विराट कोहली पनि भारतीय टोलीका अर्का खेलाडी हुन्। तर, भारतलाई न्युजिल्याण्ड बलरसामु ब्याटिङ गर्नु निकै चुनौतीपूर्ण छ। न्युजिल्याण्डको बलिङ पक्षमा  ट्रेन्ट बोल्ट र लकी फर्गुसनजस्ता खेलाडीलाई सामना गर्नुपर्नेछ। फर्गुसनले एकदिवसीय क्रिकेटका शीर्ष दुई ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई रोक्ने प्रयास गर्नेछन्।

केन विलियम्सनको किवी टोली पनि भारतविरुद्ध निकै संयमित भएर खेल्नेछ। जारी विश्वकपमा केन विलियम्सन उत्कृष्ट ब्याटिङ गर्ने खेलाडी सूचीको छैटौं नम्बरमा छन्। उनले जारी प्रतियोगितामा ४ सय ८१ रन बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्