मलेसिया प्रस्थान गर्नुअघि पारसले भने, ‘टी–२० विश्वकप खेल्ने अवसर खेर जान दिँदैनौं’



काठमाडौं : टी–२० विश्वकप क्रिकेटको छनोटमा स्थान बनाउने लक्ष्यसहित नेपाली राष्ट्रिय टोली मंगलबार (आज) मलेसिया प्रस्थान गरेको छ। टी–२० विश्वकप एसिया फाइनल ६ साउनदेखि सिंगापुरमा हुँदैछ। पारस खड्काको कप्तानीमा रहेको १४ सदस्सीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले बिदाई गरे।

मलेसियामा दुई टी–२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ। जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ। पाँच देशले एकअर्कासँग खेल्दा शीर्ष स्थानमा रहने टोलीले टी–२० विश्वकप छनोट खेल्नेछ। नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछन्।

छनोटकाे शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। एसिया फाइनलमा तुलनात्मक रुपमा नेपाल बलियो दाबेदार हो। आईसीसी बरियतामा नेपाल अरु देशभन्दा माथि छ। तर, विश्वकप खेल्ने बाटो भएकाले कुनै पनि टिमलाई सहज रुपमा नलिने कप्तान पारस खड्काले बताए।

बिदाई कार्यक्रममा बोल्दै कप्तान पारसले भने, ‘विश्वकप छनोटको बाटो भएकाले हामीले कुनै पनि खेल र खेलाडीलाई सजिलो रुपमा लिएका छैनौं। नेपालले विश्वकप खेल्ने हो भने यहीबाट बाटो सुरु गर्नुपर्छ।’ नेपालले २०१४ मा टी–२० विश्वकप खेलेको थियो। २०१६ मा खेल्न सकेन। अब २०२० मा अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपाली टोलीको सपना छ। त्यसका लागि यूएईमा हुने ग्लोबल छनोट खेल्नुअघि एसिया फाइनलमा शीर्ष स्थानमा रहन सक्नुपर्छ।

‘फेरि एक पटक नेपाली टोलीले विश्वकप खेल्ने सुनौलो अवसर पाएको छ, हामी त्यसलाई खेर जान दिने छैनौँ। हाम्रो टिम सन्तुलन मिलेको छ, त्यसले धेरै फाइदा पुग्नेछ’, खड्काले भने।

आफूहरूको तत्कालको लक्ष्य त्यही रहेको भन्दै कप्तान पारस भन्छन्, ‘फेरि पनि विश्वकप खेल्ने सपना छ, तर यो सजिलो हुने छैन।’ छनोट खेल्ने हरेक टोलीको सपना विश्वकप खेल्ने हुने र त्यसअनुसार मेहनत गर्ने भन्दै पारस भन्छन्, ‘हामीमा पनि राम्रो गर्न आत्मविश्वास छ तर आत्मविश्वास मात्र भएर हुँदैन, राम्रो खेल्न सक्नुपर्छ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्थाअनुसार योजना बनाएर खेल्ने सोच रहेको सुनाए। उनका अनुसार खेलाडीहरूलाई मलेसियामा पनि केही प्रयोग हुनेछ र अन्तिम रुप दिइनेछ।

नेपाली टोलीः

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

वैकल्पिक खेलाडीः

कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख, जितेन्द्र मुखिया  

प्रतिक्रिया दिनुहोस्