नेपाली पत्रकारिता चिनाउने पुस्तक तयार भएको छ : डा. भानुभक्त आचार्य



एक शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालको पत्रकारिताबारे अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक हो । तर, त्यो चासोलाई सम्बोधन गर्ने गुणस्तरीय अनुसन्धान र प्रकाशनको खाँचो छ । यस्तै खाँचोलाई पुर्न एवं नेपाली पत्रकारिताको अभ्यासलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ‘ग्लोबल पस्र्पेक्टिभ्स अन जर्नालिज्म इन नेपाल’ नामक पुस्तक तयार भएको छ ।
अन्तर्राष्ट्रिय पाठकहरूलाई लक्षित गर्दै तयार पारिएको यो पुस्तक शुक्रबार सार्वजनिक हुँदै छ । यही सन्दर्भमा पुस्तकका सम्पादक, मिडिया अध्येता तथा युनिभर्सिटी अफ अटवा (क्यानाडा)मा प्राध्यापनरत डा. भानुभक्त आचार्यसँग द नेपालटपकर्मी टीका बन्धनले गरेको पुस्तक वार्ता ।

नेपालको पत्रकारितालाई विश्वमा परिचित गराउने खँदिलो र गुणस्तरीय अध्ययन सामग्रीको अभाव छ ।

यस पुस्तकमा योगदान गर्ने २१ जना अध्येताहरूले ३ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ ।

विश्वका अधिकांश देशमा वितरण सञ्जाल रहेको बेलायती पुस्तक प्रकाशक ‘राउटलेज’ले पुस्तक प्रकाशन गरेको हो ।

नेपालभित्रका पत्रकारिताका अध्येता मात्र पुस्तकका लक्षित पाठक होइनन् ।

यहाँको सम्पादनमा प्रकाशित नेपाली पत्रकारितासम्बन्धी पुस्तकका बारेमा प्रष्ट्ययाइदिनुहोस् न ।

नेपालको पत्रकारिताको उमेर करिब सवा सय वर्ष पुग्यो । यस अवधिमा नेपालको पत्रकारिताले अनेक उतारचढावहरू बेहोरेको छ । हामीसँग अन्तर्राष्ट्रिय समुदायलाई सुनाउन मिल्ने कतिपय राम्रा अभ्यासहरू पनि छन् भने पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार्नुपर्ने कुराहरू पनि छन् ।

तर, नेपालको पत्रकारिताबारे नेपालबाहिरको कुनै पनि अध्येताले चासो राखेमा त्यसलाई सम्बोधन गर्ने गुणस्तरीय पुस्तकको अभाव थियो । त्यसैलाई पूर्ति गर्न नेपालको पत्रकारिताका विविध आयामहरूलाई समेटेर ‘ग्लोबल पस्र्पेक्टिभ्स अन जर्नालिज्म इन नेपाल’ नामक पुस्तक हामीले तयार गरेका छौँ ।

एक्काइसौँ शताब्दीका अभ्यास र प्रवृत्तिलाई उजागर गर्ने तयार पारिएको यस पुस्तकका हरेक अध्यायमा नेपाली पत्रकारिताका विभिन्न आयामलाई अन्तर्राष्ट्रिय मापदण्ड र अभ्याससँग तुलना गरिएको छ । यो पुस्तक नेपालभित्र र बाहिर रहेका २१ जना पत्रकारिता, सञ्चार र मिडिया अध्येताहरूको संयुक्त प्रयासमा २ वर्षभन्दा बढी समय लगाएर गरिएका विभिन्न अनुसन्धानमा आधारित छ ।

म स्वयं र स्टोनिब्रुक युनिभर्सिटी न्युयोर्क (अमेरिका)का सहप्राध्यापक श्याम शर्माले सम्पादन गरेको यस पुस्तकलाई बेलायती पुस्तक प्रकाशक ‘राउटलेज’ले शुक्रबारदेखि भौतिक र विद्युतीय स्वरूपमा सार्वजनिक गर्दै छ ।

के यो पुस्तक प्रकाशनलाई नेपाली पत्रकारिताको अन्तर्राष्ट्रियकरणको प्रयास भनेर बुझ्न सकिन्छ ?

नेपालबाहिर पनि बेलायतको बीबीसी, चीनको सीआरआई, भारतको अल इन्डिया रेडियोलगायतका धेरै सञ्चार माध्यमले नेपाली भाषामा पनि पत्रकारिता गरिरहेका छन् । त्यस्तै, नेपाली डायस्पोराले विभिन्न देशमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमार्फत नेपाली, अङ्ग्रेजी वा अन्य स्थानीय भाषामा समाचार प्रकाशन–प्रसारण गरिरहेको कुरा हामीलाई थाहै छ ।
विदेशमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गरेका वा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुन जाने नेपाली मिडियाका अध्येताहरूले विभिन्न जर्नलमा लेख वा पुस्तकमा परिच्छेद प्रकाशन गर्नु पनि नयाँ कुरा होइन । तर, नेपाली पत्रकारिताका विभिन्न आयामहरू समेटेर लेखिएको एवं कुनै बहुराष्ट्रिय प्रकाशन गृहबाट अन्तर्राष्ट्रिय पाठकहरूलाई लक्षित गरी प्रकाशित यो नै पहिलो पुस्तक हो ।

यस पुस्तका लक्षित पाठक नेपालको पत्रकारिताबारे चासो अन्तर्राष्ट्रिय अध्येताहरू हुन् । फेरि बेलायत र अमेरिकाबाट प्रकाशित यो पुस्तक विदेशी विश्वविद्यालय र पुस्तकालयमा सहजै उपलब्ध हुन्छ । तसर्थ, यसलाई नेपाली पत्रकारिताको अन्तर्राष्ट्रियकरणको एउटा महत्वपूर्ण प्रयास मान्न सकिन्छ ।

यस पुस्तकमा कस्ता विषयवस्तु समेटिएका छन् ?

यस पुस्तकमा ४ खण्ड र १८ परिच्छेदहरू छन्, जसले नेपाली मिडियाका विभिन्न आयामका बारेमा सैद्धान्तिक बहस, स्थलगत अध्ययन र समालोचनात्मक टिप्पणीहरू प्रस्तुत गर्छन् । यस पुस्तकभित्र परम्परागत सञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन)का साथै अनलाइन र सोसल मिडियाको प्रयोगबाट नेपाली पत्रकारितामा देखिएका विशेषता र प्रवृत्तिहरूलाई ४ खण्डमा समेटेर चर्चा गरिएको छ ।

यस पुस्तकको पहिलो खण्ड ‘व्यावसायिक दृष्टिकोण’ खण्डभित्र मिडियाको जबाफदेहिता संयन्त्र (श्रीमन् शर्मा, भानुभक्त आचार्य र समीक्षा कोइराला), सार्वजनिक सेवा प्रसारणको नीतिगत व्यवस्थापन (लक्ष्मण हुमागाइँ र तुलसी आचार्य), नेपालबाहिरबाट सञ्चालित मिडियाको व्यावसायिक र आर्थिक चुनौती (भगीरथ योगी र जगन कार्की) र नेपाली समाचार कक्षको डिजिटल रूपान्तरण (प्राध्यापक रामकृष्ण रेग्मी) शीर्षक परिच्छेदहरू समेटिएका छन् ।

दोस्रो खण्ड ‘प्राज्ञिक दृष्टिकोण’अन्तर्गत २१औँ शताब्दीको दृष्टिमा नेपालको पत्रकारिता शिक्षा (भानुभक्त आचार्य र श्याम शर्मा), ‘विकास पत्रकारिताको समालोचनात्मक अध्ययन’ (सुजिना शाक्य र डा. पीयूष मिश्र), ‘नेपालको पत्रकारितामा कोभिड– १९ को प्रभाव’ (कुन्दन अर्याल) र युवा पुस्तालाई अपसूचना र मिथ्या सूचनाबाट जोगाउने (कवि अधिकारी)बारे विमर्श प्रस्तुत गरिएको छ ।

तेस्रो खण्ड ‘सामाजिक–राजनीतिक दृष्टिकोण’अन्तर्गत समाचार र सञ्चार माध्यममा लैङ्गिक प्रतिनिधित्व (समीक्षा कोइराला), ‘चौथो अंगको भूमिकामा सरकारी मिडियाको अवस्था’ (लेखनाथ पाण्डे), ‘नेपालमा अनुसन्धानमूलक पत्रकारिताको स्थिति’ (उषाकिरण रेग्मी), ‘स्थानीय रेडियोको व्यवस्थापन र दिगोपनका चुनौतीहरू’ (सन्देशदास श्रेष्ठ)का बारेमा छलफल गरिएको छ ।

चौथो तथा अन्तिम खण्ड ‘प्राविधिक दृष्टिकोण’अन्तर्गत ‘नेपालका अखबारको डिजिटल यात्रा’ (हर्षमान महर्जन), ‘समाचार पाठकहरूको सामाजिक सञ्जालको प्रयोग र प्रवृत्ति’ (विमला थपलिया), ‘अनलाइन मिडियाको आर्थिक ढाँचा र दिगोपन’ (प्रवेश सुवेदी), ‘कृषि कर्मका लागि सामाजिक सञ्जालको उपयोग’ (रामहरि तिमिल्सिना र पूर्णबहादुर नेपाली) शीर्षकका अध्ययनहरू समावेश गरिएको छ ।

यस पुस्तकमा समेटिएका हरेक परिच्छेदमा कुनै खास विषयमा विश्वका अभ्यासहरूलाई प्रस्तुत गरेर नेपालको अवस्थामा तुलनात्मक अध्ययन वा लेखाजोखा प्रस्तुत गर्ने प्रयास गरिएको छ । उदाहरणका लागि, नेपालको पत्रकारिता शिक्षासम्बन्धी परिच्छेदमा विश्वका विभिन्न देहमा भएका पत्रकारिता शिक्षाका उत्तम अभ्यासहरू, गुणस्तरीय पत्रकारिता शिक्षाका मापदण्ड आदिका बारेमा विवेचना गरेपछि मात्र नेपालको पत्रकारिता शिक्षाको अवस्था कस्तो छ भन्ने तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

त्यसैगरी हरेक परिच्छेदमा समेटिएको विषयवस्तु २१ शताब्दीको २ दशकमा कस्तो अवस्थामा रह्यो भन्ने विषयलाई बढी जोड दिइएको छ । त्यसैले यस पुस्तकले एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताका विभिन्न आयामका पात्र, प्रवृत्ति र विशेषताहरू औँल्याउने प्रयास गरेको छ ।

समग्रमा, हामीले नेपालको पत्रकारिताको व्यावसायिक रूप कस्तो भयो, प्राज्ञिक अभ्यास कस्ता छन्, प्राविधिक रूपान्तरणमा हामी कहाँ छौँ र सामाजिक–राजनीतिक सरोकारका विषयमा कति न्यायोचित ढंगले समेट्न सकेका छौँ भनेर यस पुस्तकमा खोतल्ने प्रयास गरेका छौँ ।

कोरोना सङ्क्रमणले विश्व नै आतङ्कित भइरहेको समयमा यो पुस्तक लेखिएको रहेछ । सम्पादकको हिसाबले यहाँको कस्तो अनुभव रह्यो ?

हुनत यो पुस्तकको अवधारणाको विकास र प्रस्ताव लेखनको काम सन् २०१९ को मध्यतिर सुरु भएको थियो । सन् २०२० को जनवरीमा पुस्तकको प्रस्ताव राउटलेज प्रकाशन गृहमा पठाइयो । त्यो प्रस्ताव स्वीकृत हुन ३ महिनाजति लाग्यो । त्यसबेला कोभिड– १९ को महामारी भर्खरै सुरु भएको थियो । फेरि यस महामारीले २ वर्षभन्दा बढी समयसम्म दुःख देला भन्ने ठानिएको थिएन र काम अघि बढाइयो । तर, समयक्रममा आवागमन ठप्प भएकाले भौतिक रूपमा सहभागी भेटेर गर्नुपर्ने कतिपय रिसर्चहरूलाई भर्चुअल रूपमै सम्पन्न गर्नुप¥यो ।

त्यस्तै, लेखकहरू आफैँ वा उनीहरूका परिवारका मान्छे कोभिड– १९ सङ्क्रमणमा परेकाले लेखन कार्य प्रत्यक्ष रूपमा प्रभावित भयो । अझ, लकडाउन, क्वारेन्टाइन, औषधिको अभाव आदिका कारणले त्यो समय नै निकै कहालीलाग्दो थियो ।
त्यस्तो बेलामा समेत समयसमयमा भर्चुअल बैठक गरेर, व्यक्तिगत वा सामूहिक छलफल चलाएर, पियर रिभ्युबाट आउने अप्ठ्यारा सुझावहरूबाट नडराउन ढाडस दिएर, उहाँहरूले खोजेको समयमा उपलब्ध भइदिएर हामी २ सम्पादकहरूले उहाँहरूको हौसला बढाउने यथाशक्य प्रयास ग¥यौँ ।

यस पुस्तकमा वरिष्ठदेखि भर्खरै प्राज्ञिक क्षेत्रमा प्रवेश गर्दै गरेका लेखकहरू पनि हुनुहुँदो रहेछ । लेखकहरूको छनोट प्रक्रियाका बारेमा पनि केही भन्न मिल्छ ?

धेरै लेखकहरू संलग्न भएको सम्पादित पुस्तकहरूको सवालमा सम्पादकहरूले सर्वप्रथम आफ्नो नेटवर्कमा भएका विद्वान् अध्येताहरूसँग नै सम्पर्क गर्ने हो । उहाँहरूको समेत सुझावका आधारमा पुस्तकको खाका र प्रस्ताव तयार हुन्छ । तर, प्रस्ताव स्वीकृत भएपछि भने सार्वजनिक रूपमा अन्य लेखक वा शोधकार्यमा संलग्न विद्वान्हरूका लागि खुला आह्वान गरिन्छ ।
त्यो आह्वानलाई स्वीकारेर वा थाहा पाएर जोजो आउनुहुन्छ, जसको रिसर्च त्यस पुस्तकको विषयवस्तु अनुकूल हुन्छ, उहाँहरूलाई समेट्न सकिन्छ ।

हामीले यस पुस्तकका लागि नेपालभित्र र बाहिरका ५० भन्दा बढी अध्येताहरूसँग सम्पर्क राखेका थियौँ । प्रस्ताव आह्वान गरिसकेपछि विभिन्न सामाजिक सञ्जाल र अन्य फोरमहरूमा रिसर्च लेखनका लागि आह्वान ग¥यौँ ।

तर, कतिपयले निर्धारित समयसिमाभित्र रिसर्च बुझाउन सक्नुभएन भने कतिपयले अन्य प्राथमिकताका कारण लेख्न भ्याउनुभएन । तसर्थ, जोजो अध्येताहरू लेखाइको अन्तिम चरणसम्म जुट्नुभयो, उहाँहरूलाई मात्र समेट्न सकियो । प्राज्ञिक पुस्तक वा जर्नल प्रकाशनको अन्तर्राष्ट्रिय अभ्यास यही हो ।

यस्तो विविध पृष्ठभूमि भएका लेखकहरूलाई एउटै पुस्तकमा समेट्न गाह्रो भएन ?

गाह्रो त हुन्छ नै, तर के उद्देश्यका लागि पुस्तक लेखिँदै छ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । यो पुस्तक एउटा यस्तो अभियान थियो, जसको उद्देश्य राम्रा र स्थापित लेखक छानेर उनीहरूका उत्कृष्ट रिसर्च प्रकाशन गर्ने मात्र होइन, लेख्न चाहने क्षमतावान् तर उपयुक्त मौका नपाएका आकाङ्क्षीहरूलाई समेत समेटेर, सिकाएर, व्यावसायिक सीप हासिल गरिसकेका अघिल्लो पुस्ताका अध्येताहरूसँग सहकार्य गराउने पनि थियो ताकि भोलि नयाँ पुस्तामा समेत प्राज्ञिक लेखन, सम्पादन र नेपाली पत्रकारिताको विमर्शलाई अघि बढाउन सकियोस् ।
त्यसैले यो पुस्तक लेखनका सिलसिलामा समेटिएका २१ जना अध्येताहरूले ३ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ । पहिलो पुस्ताअन्तर्गत प्राध्यापक रामकृष्ण रेग्मी र डा. पीयूष मिश्र जस्ता विद्वान्हरू हुनुहुन्छ, जोसँग दशकौँ लामो प्राज्ञिक र व्यावसायिक अनुभव छ ।

दोस्रो पुस्ताअन्तर्गत सहप्राध्यापकद्वय डा. कुन्दन अर्याल र डा. सन्देशदास श्रेष्ठलगायतका व्यक्तिहरू हुनुहुन्छ, जो अहिले प्राज्ञिक एवं व्यावसायिक रूपमा अतिव्यस्त हुनुहुन्छ । त्यस्तै, तेस्रो पुस्ताको प्रतिनिधित्व गर्ने आकाङ्क्षीहरूमा उषाकिरण रेग्मी र विमला थपलिया जस्ता उदीयमान अध्येताहरू हुनुहुन्छ ।
यसमा सबैले बिनापैसा योगदान गर्नुभएको छ । सबै पुस्ताका आकाङ्क्षीहरूलाई एउटा प्राज्ञिक लेखनको अभियानमा समेटेर कोरोना महामारीको समयमा अघि बढ्नु अवश्य नै चुनौतीपूर्ण थियो । सुरुमा ५० भन्दा बढी दिग्गज व्यक्तिहरूसँग सम्पर्क ग¥यौँ, त्यसैको प्रयास स्वरूप यो किताब तयार भएको हो ।

यो पुस्तकले नेपाली पत्रकारितामा कस्तो योगदान दिन सक्छ भन्ने लाग्छ ?

नेपाली पत्रकारिता सुरु भएको १२० वर्षभन्दा बढी भए पनि नेपाली पत्रकारिताको संख्यात्मक विकास एवं पत्रकारिताको अध्ययन–अध्यापन फराकिलो भएको ३ दशक हाराहारी भएको छ । तर, नेपालको पत्रकारिताको वस्तुस्थितिलाई विश्वमा परिचित गराउने खँदिलो र अन्तर्राष्ट्रियस्तरको अध्ययन सामग्रीको अभाव थियो ।

यस पुस्तकले नेपाली पत्रकारितामा विभिन्न योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ । हुनत पहिले पनि नेपाली मिडियाका विभिन्न पक्षका बारेमा फुटकर रूपमा जर्नल लेख र पुस्तक च्याप्टर अन्तर्राष्ट्रिय प्रकाशनबाट छापिएकै हुन् । तर, नेपाली पत्रकारिताका विभिन्न विषयवस्तु समेटेर पुस्तककै रूपमा बहुर्राष्ट्रिय पुस्तक प्रकाशन गृहबाट प्रकाशन भएको यो पहिलो र ऐतिहासिक अवसर पनि हो ।

दोस्रो, यस पुस्तकले नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय प्राज्ञिक रङ्गमञ्चमा उभ्याएको छ । राउटलेज जस्ता बहुर्राष्ट्रिय प्रकाशन गृहहरूले हरेक वर्ष हजार–पन्ध्र सय प्राज्ञिक प्रकाशन सार्वजनिक गर्छन् । ती सबैका नियमित ग्राहक भनेका विश्वविद्यालय र पुस्तकालयहरू नै हुन् ।

नेपालको पत्रकारिता के कस्तो छ भनेर संसारको कुनै पनि अध्येता वा जिज्ञासुले खोजेमा भौतिक र भर्चुअल रूपमा यो पुस्तक विश्वभर तुरुन्तै उपलब्ध हुन्छ । नेपालभित्रका पत्रकारिताका अध्येता मात्र यो पुस्तकका लक्षित पाठक होइनन् ।

तेस्रो, यस पुस्तकको प्रकाशनले नेपालमा पनि मिडिया अध्ययन, अनुसन्धानका क्षेत्रमा भएका धेरै कामहरू अन्तर्राष्ट्रिय पाठकका लागि रुचिकर हुन सक्छन् भन्ने सन्देश दिन्छ । तसर्थ, नेपालमै रहेर पत्रकारिता वा सञ्चारका विभिन्न विधामा अध्ययन–अध्यापन गरिरहनुभएका शिक्षक–प्राध्यापकहरूलाई अन्तर्राष्ट्रिय प्रकाशन गृहमा सम्पर्क गरेर उनीहरूको प्रोटोकल अनुसरण गरेर गुणस्तरीय प्रकाशनका लागि शोध। अध्ययनमा काम गर्न सकिन्छ भन्ने आत्मविश्वास र उत्प्रेरणा दिन्छ ।

प्रकाशक विदेशी भएकाले सबैतिरका पाठकले पुस्तक कसरी प्राप्त गर्न सक्छन् ?

शुक्रबार (८ अप्रिलमा) औपचारिक रूपमा सार्वजनिक हुने ३४२ पृष्ठको यो पुस्तक अहिले राउटलेजको आफ्नै पोर्टललगायत विभिन्न अनलाइन बिक्रेताहरूबाट हार्ड कपी वा सफ्ट कपी खरिद गर्न सकिन्छ । ग्लोबल अडियन्सलाई लक्षित गरेर लेखेको पुस्तक अनि बेलायत र अमेरिकाबाट प्रकाशित यस पुस्तककोे मूल्य नेपाली पाठकहरूका लागि महँगो पर्छ ।

धेरैजसो विदेशी विश्वविद्यालय र पुस्तकालयहरू राउटलेज जस्ता बहुराष्ट्रिय प्रकाशकको ग्राहक हुने भएकाले उनीहरूले सहजै पुस्तक प्राप्त गर्छन् । ती संस्थामा अध्ययनरत कुनै शोधार्थीले यो पुस्तक निःशुल्क प्राप्त गर्न सक्छ ।

नेपाली पाठकहरूका लागि हामीले सबै परिच्छेदहरूको प्रेसमा पठाउनुभन्दा अघिको संस्करणलाई रिसर्चगेट डटनेट भन्ने सञ्जालमा राखेका छौँ । नेपाली पाठकहरूले कुन अध्येताले के विषयमा कस्तो रिसर्च गरेछ भनेर हेर्न, पढ्न र सम्बन्धित च्याप्टर डाउनलोड गर्न सक्नुहुन्छ ।

त्यस्तै, नेपालमा केही मुख्य विश्वविद्यालय र पुस्तकालयमा थोरै भए पनि केही पुस्तक पठाउने योजना बनाएका छौँ । फेरि अर्को वर्ष दक्षिण एसियाली सस्तो संस्करण प्रकाशन गरेर नेपालका पाठकहरू समक्ष पु¥याउने प्रयास गर्नेछौँ ।

अन्त्यमा, नेपालका पत्रकारिता पाठकका लागि केही भन्नु छ ?

नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय प्रकाशनमा पहुँच प्राप्त गर्न सकिन्छ । यहाँहरूले गरेका शोध, अनुसन्धानहरू गुणस्तरीय छन् र तिनले ज्ञानको दायरा फराकिलो बनाउन सघाउन सक्छन् भने त्यसलाई कुनै थेसिस वा रिसर्च पेपरमा सीमित नराखौँ । विभिन्न अन्तर्राष्ट्रिय जर्नल वा पुस्तकहरूमा प्रकाशनका लागि पहल गरौँ ।

हामीले विश्वको पत्रकारिता पढेजस्तै नेपाली पत्रकारिताका असल अभ्यास र चुनौतीहरूबारे विश्वका पाठकले पढ्न खाजिरहेका छन् । यस पुस्तकमा समेटिएका जति पनि लेखकहरू हुनुहुन्छ, उहाँहरू यो प्रक्रिया र अभ्यासका बारेमा जानकार भइसक्नुभएको छ । उहाँहरूसँग सम्पर्क गरेर नेपाली पत्रकारिता, सञ्चार वा मिडियाका विभिन्न पक्षबारे आफूले गरेका अध्ययन, अनुसन्धानलाई अन्तर्राष्ट्रिय पाठक समक्ष प्रस्तुत गर्न सबैले आआफ्नो क्षेत्रबाट पहल गरौँ ।

प्रतिक्रिया दिनुहोस्